वडाध्यक्षको बहिष्कारपछि कामपाको नगरसभा बैठक स्थगित, पार्टीको धङधङी बोकेर नआउन मेयर शाहको आग्रह

असार २, २०८१ | काठमाडौं

काठमाडौं महानगरपालिकाको १५ औं नगरसभाकोे बैठक स्थगित भएको छ । कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षले बहिष्कार गरेपछि नगरसभाको आजको बैठक स्थगित भएको हो । 

आगामी आर्थिक वर्ष २०८१–८२ का लागि गत शुक्रबार प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रमाथि बोल्न चाहने सदस्यलाई ५ मिनेटभित्र नाम टिपाउन मेयर शाहले समय दिनुभएको थियो । सो लगत्तै वडाध्यक्षहरुले नगरसभाको बैठक स्थलबाट बाहिरिएका थिए । 

सो पश्चात मेयर शाहले नगरसभाको बैठक आगामी १० गते बिहान ११ बजेका लागि बोलाउनुभएको छ । यसैबीच, मेयर शाहले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नगरसभा बहिष्कार गर्ने वडाध्यक्षको कदमप्रति आपत्ति जनाउनुभएको छ । 

उहाँले लेख्नुभएको छ–“तीन जनाले गर्दा, १ सय ६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन् भयो ।” नगरसभाका १ सय ६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहने भन्दै बन्द कोठामा राजनीतिक लेनदेन गरेर सहमती गर्ने पक्षमा आफु नरहेको मेयर शाहको भनाइ छ । 

उहाँले काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन आग्रह समेत गर्नुभएको छ । 


प्रतिक्रिया