सोलुखुम्बुको थामेमा गएको बाढीले १ विद्यालयसहित १२ घरमा क्षति

श्रावण ३२, २०८१ | काठमाडौं

सोलुखुम्बुको थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा १२ घरमा पुर्याएको छ ।

साथै, एउटा स्कुल र क्लिनिकमा पूर्ण रुपमा क्षति भएको छ । बाढीमा एक जना स्थानीय बेपत्ता छन् । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा घर बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपि द्वारिका प्रसाद घिमिरेले बताउनुभयो । डिएसपि घिमिरेका अनुसार स्थानीय एक जना बाढीमा परि बेपत्ता भएका छन् ।


घटना स्थलमा उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको प्रमुख जिल्ला अधिकारी देवि खत्री पाण्डेले जानकारी दिनुभयो । दुधकोशी नदिको तल्लो तटिय क्षेत्र भने खतरा मुक्त रहेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

थामे खोलाको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको आशंका स्थानीयको छ । तथापी मौसममा आएको खरावीको कारण हेलिकोप्टर उडान जोखिम रहेकाले सो क्षेत्रमा जान नसकिएको खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रबक्ता लाक्पा छिरिङ शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनको असरका कारण पनि सो घटना भएको आंशका छ ।

सिंगो थामेमा बाढी पसेको हुनाले सो क्षेत्रका ७ वटा घर अझै जोखिम पूर्ण अवस्थामा छन् । थामेमा सञ्चार र विद्युत सेवा दुवै प्रभावित बनेको छ । यसैबीच, जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले समेत बाढीको वास्तविक कारण खुल्न बाँकी रहेको जनाएको छ ।    


प्रतिक्रिया