अमेरिकी उपविदेशमन्त्री बर्मा राजनीतिक भेटघाटमा व्यस्त

श्रावण ३२, २०८१ | काठमाडौं

नेपाल भ्रमणमा आउनुभएका अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटवार्ता सुरु गर्नुभएको छ ।

काठमाडौंमा आज ओर्लिएलगत्तै अमेरिकी उपविदेशमन्त्री बर्माले सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्ताका क्रममा उहाँहरुबीच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावबारे चासो राख्नुभएको थियो । नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले नेपालको विकासका विविध क्षेत्रमा सहयोगको अपेक्षा गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तरोन्त्ती हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको पनि जानकारी गराउनुभयो । सो क्रममा उपमन्त्री बर्माले दुई देशबीचको ७७ वर्षदेखिको सम्बन्धको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाको लागि खुसीको विषय भएको बताउनुभयो । उहाँले नेपालको संक्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेकामा बधाई समेत दिनुभयो ।

यसैबीच, परराष्ट्रमन्त्री आरजु राणा देउवासँग अमेरिकाको व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री रिचार्ड वर्माले आज शिष्टाचार भेटवार्ता गनुभएको छ । वर्माले प्रधानमन्त्री ओलीलाई भेटेपछि परराष्ट्र मन्त्रालय पुगेर राणासँग शिष्टाचार भेट गर्नुभएको हो । सो भेटका क्रममा नेपाल अमेरिका सम्बन्ध, आपसी हित, विकास सहायता आयोजनालगायत विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको क्रममा वर्माले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरु, चिया विज्ञहरु र नेपाली व्यवसायीहरूसँग भेट्ने अमेरिकी दूतावासले जनाएको छ ।

ओली नेतृत्वको नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो सबैभन्दा उच्चस्तरिय भ्रमण हो । नेपाल भ्रमण सकेर अमेरिकी उपविदेशमन्त्री बर्मा भोलि नै भारत जाने बताइएको छ । बर्माले २ साता अघि मात्रै बाईडेन प्रशासनमा विशेष नियुक्ती एवं युक्रेनको आर्थिक पुर्नउत्थान प्याकेजका लागि नेतृत्वदायी भूमिका पाउनुभएको थियो । उहाँ अमेरिकी विदेशमन्त्रालयमा एन्टोनी ब्लिङकेनपछि दोस्रो तहमा हुनुहुन्छ । यसअघी उहाँ २०१४ देखि १७ को अवधिमा भारतका लागि राजदूत समेत हुनुहुन्थ्यो ।      


प्रतिक्रिया