पाथीभरा विवाद समाधानका लागि गृहद्वारा संघीय मन्त्रालयलाई पत्राचार

माघ १९, २०८१ | ताप्लेजुङ

ताप्लेजुङको पाथीभरा क्षेत्रमा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । 

केवलकार नियमनको विषय संघीय मामिला अन्तर्गत पर्ने भएकोले स्थानीयका सवाल र सरोकारका विषयलाई समन्वय र सहजीकरण गरी तत्काल पहल अगाडि बढाउन गृह मन्त्रालयले आग्रह गरेको हो । 

शाखा अधिकृत क्रृषिकेश खतिवडाद्वारा लेखिएको पत्रमा भनिएको छ, ‘केबलकार नियमनको विषय त्यस मन्त्रालय अन्तर्गत पर्ने भएको हुँदा सो सम्बन्धमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्याको समाधान गर्न तत्काल पहल अगाडि बढाइदिनु हुन निर्देसानुसार अनुरोध छ ।’

गत माघ १५ गते गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, इलाम र संखुवासभाका प्रतिनिधि सभाका सांसदलाई मन्त्रालयमै बोलाएर वार्ता समिति बनाउने र वार्ता गर्ने आश्वासन दिनु भएको थियो । 

माघ १२ गते प्रहरी र ‘केबलकार निर्माणविरुद्ध उत्रिएको समूह’बीच झडप हुँदा गोली चलेको थियो । गोली लागेर आन्दोलनरत समूहका दुई सहित पाँच जना घाइते भएका थिए भने प्रहरीतर्फ २१ जना घाइते भएका थिए । तीन जना पक्राउ परेका छन् ।

पक्राउ परेकाको रिहाइ, केबलकार निर्माण बन्द, निर्माणस्थलबाट सशस्त्र प्रहरी फिर्ता लगायतको माग गर्दै आन्दोलनरत समूहले माघ १५ गतेदेखि मेची राजमार्ग र तमोर करिडोर बन्दको आह्वान गरेका छन् । जसले ताप्लेजुङ लगायत पाँचथर, इला, धनकुटासम्मको जनजीवन प्रभावित बनाएको छ । लामो तथा छोटो दूरीका यातायातका साधन चलेका छैनन् ।


प्रतिक्रिया