निजामती सेवासम्बन्धी विधेयकका प्रावधानमा कर्मचारीको विरोध

जेष्ठ ११, २०८२ | काठमाडौं
संघीय निजामती सेवासम्बन्धी विधेयकका केही प्रावधानमा विमत्ति जनाउँदै निजामती कर्मचारी विरोधमा उत्रिएका छन् । उनीहरुले आज सिंहदरवारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका हुन् । कर्मचारीको वृत्ति विकास, सरुवा र बढुवाको विषय स्पष्ट रुपमा राखेर सेवासुविधा कटौती गर्ने प्रावधान विधेयकबाट हटाउनुपर्ने माग उनीहरुको छ ।
निजामति कर्मचारीले पाँच वर्ष काम गरेका कर्मचारीको एक तह र दश वर्ष काम गर्नेको एक श्रेणी बढुवा हुनुपर्ने तथा शाखा अधिकृतले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था कायम हुनुपर्ने जस्ता माग अघि सारेका छन् ।
स्थानीय तह र प्रदेशमा रहेका कर्मचारीकालागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने माग विधेयकले सम्बोधन नगरेको उनीहरुको भनाइ छ । नेपाल निजामति कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले अन्तर प्रदेश सरुवाको व्यवस्था गर्न माग गर्नुभयो ।
कर्मचारीको ट्रेड युनियन सञ्जालले विधेयकको सन्दर्भमा ११ बुँदे मागहरु सम्बोधन नगरेसम्म विरोध जारी राख्ने बताएका छन् । करार कर्मचारीको विषयलाई समेत विधेयकमा समेट्नुपर्ने कटुवालको भनाइ छ ।
उता, सरकारका मुख्य सचिव र सचिवहरुले भने अवकाशपछि दुई वर्षसम्म राजनीतिक नियुक्ति गर्न नमिल्ने व्यवस्था अर्थात् कुलिङ अफ पिरियड हटाउनुपर्ने भन्दै राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराइसकेका छन् ।