असार १५ मा शिक्षा विधेयक पारित हुनेमा भने अन्यौल

असार २, २०८२ | काठमाडौं
प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यही असार १५ मा पारित हुनेमा अन्यौल देखिएको छ ।
शिक्षा क्षेत्रका सरोकारवाला सबैको मुद्धा सम्बोधन गरेर विधेयकमा समेट्नुपर्ने दवाव भएकाले तत्काल विधेयक पारित हुने सम्भावना नदेखिएको हो ।
समिति सभापति अम्मरबहादुर थापाले पछिल्लो पटक थपिएका बुँदामाथि परामर्श उपसमितिमा छलफल जारी रहेको बताउनुभयो । उहाँका अनुसार समितिका तर्फबाट १७ वटा बुँदा थप भएको छ । यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ३३ वटा बुँदा थप गर्नुभएको समिति सभापति थापाले बताउनुभयो ।
समितिमा गत जेठ ११ गतेदेखि स्थगित छलफल दुई दिनअघिबाट मात्र शुरु भएको छ । समिति सभापति थापाले सरकार र समितिकातर्फबाट थपिएका बुँदामा सहमति जुटाउने प्रयास भइरहेको बताउनुभयो । विधेयकमा समेटिनुपर्ने विषयमा मन्त्रालय र समिति समेत एकमत हुन सकेको छैन ।