सानातिना समस्या सहजै हल हुन्छन् : प्रम ओली

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०७५ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सहजै हल हुने बताउनुभएको छ । छिन्नलता गीत पुरस्कार गुठीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले जनताले आफूलाई देश बनाउने जिम्मेवारी दिएकोले त्यसलाई इमान्दारिताका साथ पूरा गर्ने बताउनुभयो ।

“म कुनै पनि काम पर्दा पछाडि गर्दिन” प्रधानमन्त्री ओलीले भन्नुभयो “भ्रष्टाचार गर्दिन । कसैलाई गर्न पनि दिन्न र सबै काम पारदर्शी ढंगले गर्छु ।”

समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य जसरी पनि हासिल गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपाली कला र साहित्यले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा ३६ औं छिन्नलता पुरस्कार तथा सम्मानबाट गायक ज्ञानेन्द्र गदाल, बसन्त क्षेत्री, संगिता प्रधान राना, मेलिना चाम्लिङ राई पुरस्कृत भएका छन् । यसैगरी राजनराज शिवाकोटी, शान्ती ठटाल, शिवशंकर थापा र कोमल वली पनि सम्मानित भएका थिए । 


प्रतिक्रिया