नवलपरासी डायरी

माघ २२, २०७४ | नवलपरासी

बजेट अभावका कारण पश्चिम नवलपरासीको आर्सेनिक प्रभावित क्षेत्रमा निर्माणाधिन ठूला खानेपानी आयोजना अलपत्र परेको छ । दुई वर्ष अगाडि सुरु भएको आयोजना अन्र्तगत डीप बोरिङ्ग खन्ने बाहेक अन्य काम हुन नसक्दा आयोजना नै रोकिने होकी भन्ने चिन्तामा स्थानीय छन् । तराई मधेस खानेपानी सुधार कार्यक्रम अन्तर्गत जिल्लामा सञ्चालित पाँच वटा आयोजनाको काम रोकिएको हो ।

जिल्ला खानेपानी तथा सरसफाई कार्यालय परासी मार्फत काम सुरु भएको भएपनि बजेट र स्थानीय तह लागू भएपछि आयोजनाको स्वामित्व बारे अन्यौल हुँदा काम रोकिएको हो । गत आर्थिक वर्षबाट काम सुरु गरी एक महिनासम्म बोरिङ्ग गाडीएको भएपनि थप काम नहुँदा आयोजना अपलत्र परेको हो । आर्सेनिकको मात्रा उच्च भएको क्षेत्रमा शुद्ध खानेपानी वितरण गर्ने उदेश्यले आयोजना सुरु भएको भएपनि काम अगाडि नबढ्दा स्थानीयले आर्सेनिक युक्त पानी पिउन बाध्य छन् । 

मदारबाबा मेला, हिन्दुमुस्लिमको साझा थलो 

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा आजबाट मदारबावा मेला सुरु भएको छ । मुस्लिम र हिन्दू धर्मावलम्बिको साझा मेलाको रुपमा लिईने मेला भर्नेको घुंईचो लागेको छ । कुतबुल मदार शाह दरगाह कमिटीले मेलामा आउने श्रद्धालुका लागि बास, खानेपानी, बिरामीका लागि उपचार शिविर, शौचालयको बन्दोबस्त गर्नुका साथै सुरक्षाका लागि व्यवस्था मिलाइएको अध्यक्ष निजामुद्दिन मिंयाले बताउनुभयो । मेलामा नेपालका साथै भारतको दिल्ली, मुम्बइ, बिहार, बंगाल लगायतको विभिन्न स्थानहरूबाट करीब १० लाख भन्दा बढी भक्तजनहरू आउने अनुमान गरिएको छ । मेला फागुन १ गते सम्म सञ्चालन हुनेछ । 

बालबालिकाले निर्माण गरे उद्यान 

पूर्वी नवलपरासीको रजहरमा स्थानीय बालबालिकाको सक्रियतामा बाल उद्यान निर्माण भएको छ । बालबालिकाका लागि खेल्न व्यवस्थित पार्क नभएको भन्दै आर्थिक सहयोग संकलन गरेर सुविधा सम्पन्न पार्क निर्माण गरेका हुन् । भूपु विद्यार्थी एशोसिएसनको सक्रियता, स्व: शिव स्मृति कोस, आदर्श बाल क्लब र स्थानीयको सहयोगमा बरचुली माविमा बालमैत्री उद्यान निर्माण भएको हो । विद्यालयमा पूर्व विद्यार्थी शिव तिवारीको ब्लड क्यान्सर उपचारका लागि संकलन गरिएको रकम ५० हजार रुपौयाँ परिवारलाई हस्तान्तरण गर्नु अघिनै तिवारीको निधन भएपछि स्व: शिव स्मृति कोषको स्थापना गरिएको थियो । स्थानीय आदर्श बाल क्लबको देउसी भैलो कार्यक्रमबाट संकलित ३० हजार, कोषको ५० हजार र अन्य सहयोग जुटाएर उद्यान निर्माण गरिएको क्लबका सल्लाहाकार रुपेश बानियांले बताउनुभयो । 

लोपोन्मुख कुस्ति खेल संरक्षण गर्दै परासीका युवा 

लोपोन्मुख कुस्ति(दंगल) खेलको संरक्षणमा पश्चिम नवलपरासीका युवा जुटेका छन् । विशेषगरी भारत र नेपालको तराई भेगमा खेलीने प्राचीन खेल पछिल्लो समय ओझेलमा परेको भन्दै परासी भेगमा युवाले वर्षेनी प्रतियोगिता सञ्चालन गर्दै आएका छन् । केही वर्ष पहिले दशंै, तिहार जस्ता पर्वको अवसर पारेर परासी र आसपासका क्षेत्रमा प्रतियोगिता आयोजना हुने भएपनि अहिले हरेक महिना फरक फरक स्थानमा कुस्ति जुधाई आयोजना हुँदै आएको छ । जिल्लाको परासीका युवाले विराट दगंल (कुस्ती) ब्यवस्थापन समिति रामग्राम नामक संस्था नै खोलेर हरेक वर्ष कुस्ति आयोजना गर्दै आएको स्थानीय मिथिलेश अग्रहरीले बताउनुभयो । वर्षेनी प्रतिस्पर्धा हुने भएपछि यस क्षेत्रका पहलवान र रुचि भएका युवाले वर्षभरी खेलको तयारी गर्ने तथा भारतका विभिन्न प्रतियोगितामा गएर सहभागिता समेत जनाउने गरेका छन् । युवाहरु आफै सहयोग रकम जम्मा गरेर प्रतियोगितालाई निरन्तर चलाउन लागि परेका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आलेका अनुसार कुस्ति ऐतिहासिक महत्व बोकेको खेल भएपनि औपचारीक रुपमा जिल्लामा यस्को प्रशिक्षण र कार्यक्रम नभएको बताउनुभयो । 


प्रतिक्रिया