ताप्लेजुङ डायरी

वैशाख १, २०७५ | ताप्लेजुङ

पहाडी जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरुमा पदयात्रा गर्न सकिने गरिको सर्किट तयार गरिएको छ । ताप्लेजुङको पाथीभरालाई गन्तब्य बनाएर धनकुटाको हिले, टुटे देउराली, तीन जुरे, चौकी, गुफा, मिल्के, दोभान, सुकेटार भएर पाथीभरा सम्मको गन्तब्य पहिचान गरिएको हो । यो सर्किटमा पाँचथरको हिलिहाङ, सिलौटे र इलामको श्री अन्तुलाई जोडिएको छ । गुँरासको राजधानी, पोखरी नै पोखरीको क्षेत्र, कञ्चनजंघा, मकालु जस्ता हिमश्रृङखलाको अवलोकन गर्न पाइने यो क्षेत्रमा सात दिनमा भ्रमण पूरा हुन्छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको आयोजनामा अहिले यो क्षेत्रको पदयात्रा जारी रहेको छ । 

कालोपत्रे भएरपनि बाह्ै महिना चल्न नसकेको ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नति गरिने भएको छ । पूर्वतर्फको ढिस्को भत्काएर पाँच सय मिटर कालोपत्रे बिस्तार गरे धावनमार्गको दुई तर्फबाट जहाज अवतरण गर्न सक्ने भएकाले त्यसको विस्तृत अध्ययन भइरहेको नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर पुष्प न्यौपानेले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य योगेश भट्टराइ नेतृत्वको टोलीले पर्यटन मन्त्रीलाई भेटेर गत साता विमानस्थल सुधारका लागि अनुरोध गरेको थियो । मन्त्रालयले तत्काल प्रारंभीक सर्भे गराएको हो । 

कोशी राजमार्गसँग जोड्ने दोभानको तमोर नदी माथिको मोटरेवल पुलको ट्रष्ट निर्माणको काम सम्पन्न भएको छ । मेची राजमार्गबाट तराईको झापा जोडिएको ताप्लेजुङ यो पुल सञ्चालनमा आएसँगै सुनसरीको इटहरीसँग जोडिने छ । उत्तर दक्षिण लोकमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीका अनुसार अव पुल माथीको भाग प्लाष्टर गर्न र रङ रोगन गर्न बाँकी रहेकाले असार देखि सञ्चालनमा आउने सम्भावना रहेको छ । 

यो वर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि भानुजन मावि अम्विटार फुङलिङले हात पारेको छ । १३ स्वर्ण ३ रजत र ३ काश्य सहित १९ पदक हात पार्दै उपाधि जीतेको हो । यसअघि लगातार तीन वर्षदेखि उपाधि जित्तै आएको नारायणी मावि मैवाखोला १७ पदक प्राप्त गर्दै द्धितिय स्थानमा चित्त बुझाउन बाध्य भएको छ । उसले ८ स्वर्ण, ४ रजत र ५ काश्य पदक जितेको थियो । कुल पदकका हिसाले १८ पदक जितेको सरस्वती मावि हाङपाङ आठराई त्रिवेणी भने तृतीय भएको छ । उस्ले ५ स्वर्ण, ६ रजत र ७ काश्य पदक जितेको छ । यो वर्षदेखि स्वर्ण पदकका आधारमा विजेता घोषणा हुन्छ । द्वितिय र तृतीय भएका मैवाखोला र आठराई त्रिवेणीले क्रमश ८ र ५ स्वर्ण प्राप्त गरेका छन् । 

पाथीभरा याङवरक गाउँपालिकामा अन्तर्राष्ट्रिय चेस प्रतियोगिता हुने भएको छ । जिल्ला चेस समितिले बैशाख २५ देखि २९ गतेसम्म पाँच दिने प्रतियोगिता आयोजना गरेको हो । कुल ३ लाख ५५ हजार पुरस्कार राशिको प्रतियोगिताको उपाधि बिजेतालाई ३५ उपविजेतालाइ ३० र तृतीय हुनेलाइ २५ हजार पुरस्कारको ब्यवस्था गरिएको छ । आयोजक समितिका निर्देशक राजकुमार मेन्याङवोका अनुसार टप फिप्टिन सम्मलाई पुरस्कार दिइने छ । चौंथोलाई २०, पाँचौलाई १५ हजार र त्यसपछि क्रमश एक हजार रुपैंया घटाएर अन्तिम तथा पन्ध्रौं स्थान हासिल गर्नेलाई आठ हजार दुइ सय रुपैंया पुरस्कार दिइने मेन्याङवोले बताए । 


प्रतिक्रिया