निगमको घाटा पूर्ति हुने बित्तिकै पेट्रोलको मूल्य घट्छ : मन्त्री यादव

पुस २६, २०७५ | काठमाडौं

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपाल आयल निगम भित्र रहेको विकृति अन्त्य नभए सम्मको कसैको हित नहुने बताउनु भएको छ । नेपाल आयल निगमको ४९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले निगम भित्र रहेको विकृति र विसंगतीको अन्त्य नभएर सम्मको कसैको हित नहुने बताउनु भएको हो । 

“निगम भित्र जुन विकृति विसंगती छ, त्यो सबै बन्द नगरी कसैको कल्याण हुँदैन, उहाँले भन्नुभयो, ‘देशको त कल्याण नै हुँदैन, गढबढ गर्नेको पनि अब कल्याण हुँदैन ।”

विगतमा निगम भित्र ठूलो अनियमितता र चुहावट हुने गरेको भन्दै मन्त्री यादवले सबैको सहयोगमा अहिले त्यो चुहावट रोक्ने काम भइरहेको बताउनुभयो । तर, चुहाव रोक्ने काम भने सन्तोषजनक नरहेको उहाँको भनाई थियो ।

चुनौतीहरु धेरै भएपनि त्यसको सामना गर्दै सफलता तर्फ उन्मुख भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्वालै प्वाल के जता पनि चुहिने खालको छ । तर अहिले सबैको सहयोगले हामीले त्यो प्वाल टाल्ने काम गरिरहेका छौं । कुनै एक व्यक्तिले मात्र होइन सबैको सहमति र सहयोगले नै हामी सफल भएका छौं, तर अझै पनि पूरै टालिएको छैन ।”

नयाँ विक्रेता विनियमावली बनाउनका लागि ९ महिना देखि निगमलाई आग्रह गरेपनि तयार नगरेको भन्दै मन्त्री यादवले आक्रोश व्यक्त गर्नुभयो । 

“निगमलाई ९ महिना देखि नयाँ विक्रेता विनियमावली बनाउ भन्दा अहिले सम्म बनाएको छैन, उहाँले भन्नुभयो, ‘हिजो मात्र सुनें राय मस्यौदाका लागि खुल्ला गरिएको छ, नौ महिना देखि मन्त्रीले कराउँदै जाने यो कस्तो दिन आयो । मन्त्री भएदेखि नै कराउँंदै जाँदा पनि तयार नहुनुले यसमा पनि सिण्डिकेट थियो ।”

बजार प्रतिस्पर्धात्मक भएको भन्दै मन्त्री यादवले निजी क्षेत्रका पेट्रोलियम ढुवानी व्यवसायीलाई खुला रुपमा प्रपितस्पर्धा गर्न आग्रह गर्नुभयो । विगतमा निगमले ठूलो घाटा व्योहोर्दै आएको भन्दै मन्त्री यादवले त्यो घाटा पूर्ति हुने बित्तिकै पेट्रोलियम पदार्थको मूल्य पनि घटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “केही दिनभित्र निगमको घाटा मेकअप हुन्छ, त्यो लगत्तै हामी पेट्रोलियम पदार्थको मूल्य पनि घटाउंछौँ ।”

कार्यक्रममा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व प्रसाद अर्यालले निगम अब व्यवसायीक हुनुपर्ने भन्दै सञ्चालक समितिमा निजी क्षेत्रको सहभागितामा जोड दिनुभयो । निगम संस्थानबाट कम्पनीको रुपमा परिणत भइसकेको भन्दै निगम सञ्चालक समिति प्रशासनिक मात्र नभई व्यवसायीक हुनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो संस्थानबाट कम्पनीमा परिणत भइसकेपछि यो सञ्चालक समिति प्रशासनिक मात्र हुनु हुँदैन, व्यवसायीक पनि हुनुपर्छ भन्ने निजी क्षेत्रको माग । त्यो व्यवसायीक सञ्चालक समिति भित्र ६६ प्रतिशत लगानी गर्ने निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनुपर्छ । यसलाई आगामी दिनमा व्यवसायीक ढंगले सञ्चालन गर्नका लागि व्यवसायीक दक्षता भएका व्यक्तिलाई समितिमा समावेश गरिनुपर्छ ।”

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले उद्योगीको रकम निगमको खातामा रहेको भन्दै उहाँले त्यसको ब्याज लिने बाहेको अरु दायित्व पूरा नगरेको तर्क गर्नुभयो । 

कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले निगमलाई सुदृढ बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निगमलाई सुदृढ बनाउने यहाँ भएका कमी कमजोरीलाई र विकृतिको अन्त्य गर्ने तथा पारदर्शी हिसाबले काम गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।”

निगमलाई व्यवस्थित बनाउन नयाँ योजना, नीति नियम बनाउने र यसको कार्यान्वयन नै अबको मुख्य काम भएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया