नविकरणीय ऊर्जा प्रवर्धका लागि सरकार र विश्व बैंकबीच समझदारी 

रेडियो कान्तिपुर संवाददाता

वैशाख ९, २०७६ | काठमाडौं

नविकरणीय ऊर्जालाई प्रवर्धन गर्ने उद्देश्यले विश्व बैंकको सहयोगमा नेपाल सरकारले नयाँ परियोजना सार्वजनिक गरेको छ । परियोजना अन्तर्गत ग्रामीण भेगका १ लाख २६ हजारलाई नविकरणीय ऊर्जा प्रदान गरिने छ ।

साना तथा मझौला जलविद्युत आयोजना तथा सौर्य ऊर्जा मार्फत व्यापार व्यवसायमा समेत मद्धत पुर्‍याउने जनाएको छ । निजी क्षेत्रको सहकार्यमा नविकरणीय ऊर्जाको प्रवर्धका लागि सरकार र विश्व बैंकबीच समझदारी भएको छ ।

समझदारी पत्रमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका तर्फबाट नेपालका लागि कार्यकारी निर्देशक विज्ञान प्रधानले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार निजी क्षेत्रको नेतृत्वमा रहेका मिनि ग्रिड ऊर्जा पहुँच परियोजनामा १ करोड ७२ लाख डलर खर्च हुनेछ । सो रकम ४ वर्षभित्र खर्च गरिसक्नुपर्नेछ ।

कुल रकम मध्ये विश्व बैंकले रणनीतिक जलवायु कोषबाट ७६ लाख १० हजार डलर सहयोग गर्नेछ । नेपाल सरकारले ६० लाख डलर खर्च गर्नेछ भने निजी क्षेत्रबाट ३६ लाख डलर सहयोग प्राप्त हुने विश्व बैंकले जनाएको छ ।

सो परियोजना अन्तर्गत ग्रामीण भेगका १ लाख २६ हजारलाई नविकरणीय ऊर्जा प्रदान गरिनेछ भने साना तथा मझौला जलविद्युत आयोजना तथा सौर्य परियोजना मार्फत व्यापार व्यवसायमा समेछ मद्दत पुर्‍याउने जनाएको छ । सो परियोजना वैकल्पिक ऊर्जा परियोजना मार्फत सञ्चालन हुनेछ विश्व बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   


प्रतिक्रिया