‘स्मार्ट भिलेज’ चिनाउन घलेगाउँ महोत्सव

वैशाख १९, २०७६ | लमजुङ

नेपालमै पहिलो ‘स्मार्ट भिलेज’ बनाउने अभियान थालेको लमजुङको पर्यटकीय घलेगाउँमा मेला आयोजना हुने भएको छ । घलेगाउँमा यसपटक आयोजना गरिने महोत्सव २० औं संस्करणको हो । ‘स्मार्ट भिलेज’ शुभारम्भको पहिलो वर्षको रुपमा मनाइने २० औं घलेगाउँ महोत्सवमा यसपटक जिल्लाका अन्य गाउँको होमस्टे गाउँलाई निम्तो दिइएको छ ।

पर्यटन प्रवद्र्धनका कार्यक्रम सुरु भएको २० औं वर्षगाँठमा मनाइने महोत्सवलाई स्थानीयले चाडपर्वको रुपम मनाउने भएका छन् । राम्रो लगाउने, मिठोमसिनो खाने र पाहुनालाई पनि खुवाउने तवरबाट यसपटक महोत्सव मनाइने आयोजक पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँले बुधबार बेंसीसहरमा पत्रकार भेटघाट गरी जानकारी दिएको छ ।

घलेगाउँका अगुवा, पर्यटन समितिका अध्यक्ष प्रेम घलेका अनुसार घलेगाउँ ‘स्मार्ट भिलेज’ उन्मुख पर्यटकीय गाउँ हो । ‘करीब २० वर्षअघि हामीले घलेगाउँलाई पर्यटकीय गाउँ बनाउन सकिन्छ कि भनी छलफल गरेका थियौं । आमा समूहले साथ दियो’ उहाँले भन्नुभयो, ‘बाटोमा हिँड्ने पाहुनालाई घरमा बोलाएर खुवायौं । डाँडामा टेन्ट टाँगेर बस्ने पर्यटकलाई घरमा बोलाएर बास दियौं । अनि सुरु भयो ग्रामीण पर्यटन ।’

२०५६ सालमा १२ घर छनौट गरेर होमस्टे थालनी गरेकोमा अहिले ३४ घरमा व्यवस्थित होमस्टे छ । होमस्टेमा नअट्ने पर्यटकलाई गाउँका कुनैपनि घरमा व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । ‘हामीले २०५७ मा पहिलो महोत्सव ग¥यौं । अहिले २० औं गर्दैछौं । यसले घलेगाउँको प्रचारप्रसारमा टेवा पुगेको छ । अहिले स्मार्ट भिलेज पछिको पहिलो महोत्सव हो ।’

उहाँका अनुसार २०७५ पुस १० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्मार्ट भिलेजको शुभारम्भ गर्नु भएको थियो । यसको पूर्वाधार विकासका लागि गण्डकी प्रदेश सरकारले २९ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

क्व्होलासोंथर गाउँपालिकाले १५ लाख बजेट छुट्याएको छ । अपुग ३० लाख बजेट तारा गाउँ विकास समितिलाई माग गरेको उहाँले बताउनुभयो । स्मार्ट भिलेजको अभियान अन्तर्गत गाउँका १ सय २५ घरमध्ये हामीले ८० प्रतिशत घरमा पुराना छानो हटाएर नयाँ रातो रंगको टीन राखिएको उहाँले बताउनुभयो ।  

‘प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरवास, घलेगाउँ समृद्धिको आधार–स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रर्वद्धन, ग्रामीण पर्यटन विकासको पूर्वाधार’ भन्ने नारासहित २० औं घलेगाउँ महोत्व आयोजना गर्न लागिएको पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म दक्षिण एसियाको नमुना गाउँ (सार्क भिलेज) भनेर चिनिने घलेगाउँ ‘स्मार्ट भिलेज’ को रुपमा चिनिंदै गएको छ । घलेगाउँको बदलिंदो पर्यटन प्रवद्र्धनका तौरतरिका, व्यवस्थापनका बारे सदैव सचेत रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा गुरुङ लोपुन्मुख संस्कृति घाँटु, सोरठी, सेर्का, घ्याब्रे, कृष्णचरित्र लगायत नाच, गुरुङ खाना महोत्सव, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, पौराणिक हास्तकला सामग्री प्रदर्शनी, स्थानीय कृषि उपजको प्रदर्शनी, होमस्टे सम्बन्धी कार्यशाला लगायत हुनेछन् ।

हिमाली दृश्य, सूर्योदय र सूर्यास्त, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन संग्रहालय, स्वर्गभूमि रंगाशाला, क्व्होइँबो धीं पार्क, चिया बगान, तिजे उत्तरकन्या मन्दिर, पौराणिक भेडीगोठ लगायत हेर्न लायक छन् । समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाईको घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायत दर्जन बढी हिमश्रृंखला देख्न सकिन्छ ।

भेडा, खसी, लोकल कुखुराको मासु, भेडा र माछाको सुकुटी, घरमै तयार पारिएको कोदोको मदिरासँगै कुरिलो, निउरो, बडमले, सिस्नो, तोरी, रायोको साग, मकै, भटमास, गहुँ, करुका परिकारले पर्यटकलाई लोभ्याएको छ । गुरुङ भाषा, इतिहास र कलासंस्कृतिका लागि घलेगाउँ पछिल्लो समय अनुसन्धानको केन्द्र समेत बन्दै गएको छ ।


प्रतिक्रिया