पेस्तोल सहित चन्द समूहका सुनसरी इन्चार्ज राई पक्राउ

असार ११, २०७७ | सुनसरी

प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका सुनसरीका इञ्चार्ज धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–६ घर भई हाल धरान उपमहानगरपालिका–१५ बझगरामा बस्दै आएका २७ वर्षीय रोशन राई रहेका छन् । 

विषेश सूचनाको आधारमा राईलाई प्रहरीले बधुबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । राईले मोटरसाइकल भने धरान–१५ को रामहंश मार्गमा पार्क गरेका बताएपछि प्रहरीले मोटरसाइकल खोजी गरेको थियो । 

राईले भनेकै स्थानमा सो मोटरसाइकल फेला परेपछि डिकि खोलेर हेर्दा ‘वन्ली फर पव्लिक सप्लाई’ लेखेको अमेरिकन पेस्तोल बरामद भएको हो । 

गोली लोड गरेको पेस्तोल एक थान, मोटरसाइकल एक थान, म्यागजिन एक थान, दुई थान मोबाइल र ६ थान सिम बरामद भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र बस्नेतले राईलाई सुनसरी जिल्ला अदालतबाट हात हतियार खरखजाना मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । 


प्रतिक्रिया