सामान्य विवादमा खुकुरी प्रहारबाट रुपन्देहीमा एकको हत्या

आश्विन १८, २०७८ | तिलोत्तमा

रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । आइतबार राति शुद्धोधन नगरपालिका–३, बेतानीमा एक प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता–३ का अवदेश चमारको सोही उद्योगमा कार्यरत अर्का भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । 

हत्या बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो । उहाँका अनुसार मापसे सेवन गरेका मजदुरहरुबीच सामान्य विषयमा विवाद हुँदा खुकुरी प्रहारको अवस्था सृजना गरेको देखिन्छ । 

रविले अवदेशलाई खुकुरी हानेपछि उनका पिता गोपिचन्दलाई समेत प्रहार गरेका थिए । खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवदेशको बाटोमै मृत्यु भएको र उनका पिताको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । 

सो घटना बारे अवदेशका छिमेकी र सँगै काम गर्ने साथीले रवि र आफूहरु बेग्लै ठाउँमा सुत्ने गरेको तर, आइतबार भने सँगै सुत्ने क्रममा अवदेशले नसुतेर किन हल्ला गरेको भनी प्रश्न गर्दा रविले खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 


प्रतिक्रिया