तनहुँमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

आश्विन २५, २०७८ | तनहुँ

चितुवाको आक्रमणबाट तनहुँमा एक बालिकाको मृत्यु भएको छ । बन्दिपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा सोमबार साँझ करीब ६:१५ बजेतिर चितुवाले आक्रमण गर्दा स्थानीय प्रकाश थापा मगरकी ९ वर्षीया छोरी स्वीकृतिको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । 

हजुरआमाले घर नजिकैको पसलबाट मासु ल्याउन पठाएको र घर फर्किने क्रममा उनलाई चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । घर जाँदै गरेकी स्वीकृतिलाई चितुवाले आक्रमण गरी जंगलतिर लगेको थियो । 

घटनास्थलमा युवाहरु आइपुग्दा बालिका मृत अवस्थामा भेटिएको स्थानीयलाई उद्दृत गर्दै गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो । बालिकाको घर र बाहुनभञ्ज्याङ आउने बीच बाटोमा जंगल रहेको र उनी हजुरआमासंगै बस्दै आएकी थिइन । 

बालिकाका बुबा पनि घर बाहिर रहेको र आमा नभएको बताइएको छ । बन्दिपुर गाउँपालिकामा यसअघि पनि चितुवाको आक्रमणमा परि एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका छन् । घटना स्थलमा मुचुल्का गरी मृतक बालिकाको शव पोष्टमार्टमका लागि दमौली ल्याउने तयारी भएको सयहाक डिभिजन वन अधिकृत शुरेस भुजेलले बताउनुभयो । 


प्रतिक्रिया