सिन्धुलीमा ३ बालिकामाथि सामूहिक बलात्कार

आश्विन ३१, २०७८ | सिन्धुली

दशैंको टीका लगाएर घर फर्किंदै गरेका ३ जना बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा सिन्धुलीबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलामाई नगरपालिका–५ का २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगर रहेका छन् । 

दशैंको टीका लगाएर घर फर्किने क्रममा बाटोमा ढुकेर बसेका युवाहरुको समूहले कमलामाई–५ बोझेका तीन जना बालिकालाई सामूहिक बलात्कार गरेका थिए । बालिकाका परिवारले प्रहरीमा दिएको किटानी जाहेरी अनुसार आफ्न्तकोमा टीका लगाएर फर्किंदा शनिबार राति कमलामाइ नगरपालिका–५ को लब्दाह खोलाको पुलमुनी ९ जना युवाहरुको समूहले सामूहिक बलात्कार गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार सामूहिक बलात्कारमा संलग्न मध्ये ३ जनालाई पक्राउ गरिएको र बाँकी ६ जना फरार रहेका छन् । बलात्कृत हुने बालिकाहरु १५, १६ र १७ वर्ष उमेर समूहका छन् । 

बलात्कारमा संलग्न भई फरार भएकाको खोजी भइरहेको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । दशैंको बिदाका कारण अदालत बन्द भएकाले पक्राउ परेकालाई कारबाहीका लागि हाललाई पक्राउ पूर्जी लिएको र अदालत खुलेपछि थुनामा राखेर अनुसन्धान गर्ने म्याद थप गराई कारबाही प्रकृया अघि बढाइने प्रहरी निरीक्षक भट्टराईको भनाइ छ । 


प्रतिक्रिया