राष्ट्रिय सहमतिको नयाँ सरकार गठन गर्ने निर्णयः कांग्रेस प्रवक्ता महत

असार १८, २०८१

नेपाली कांग्रेसले संविधान संशोधनसहित महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि एमालेसँगको सहकार्यमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बिहान बसेको पार्टी पदाधिकारी बैठकले संविधान सहितका मुद्दालाई केन्द्रित गरेर सरकार निर्माणमा सहभागी हुने निर्णय गरेको हो । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले आम नागरिकका समस्यालाई केन्द्रमा राखेर एमालेसँग सरकार बनाउने सहमति भएको बताउनुभयो ।

पार्टी प्रवक्ता महतले सरकारको नेतृत्व एमालेका अध्यक्ष ओली र कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनसम्म आलोपालो नेतृत्व गर्ने आधारमा मोटामोटी समझदारी भएको जानकारी दिनुभयो । समझदारीलाई पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गर्ने भएको छ । नयाँ सरकारमा एमालेले अर्थसहित ९ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने प्रारम्भिक समझदारी भएपनि राष्ट्रिय सहमतिकै सरकार बनाउने प्रयास भएकाले मन्त्रालयको संख्या तलमाथि हुन सक्ने नेताहरुले बताएका छन् । 


प्रतिक्रिया