बागमती गोल्डकपमा आर्मीले चर्च ब्वाइजको सामना गर्ने

फाल्गुन ५, २०८१ | मकवानपुर
मकवानपुरमा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीले चर्च ब्वाइज युनाइटेड क्लबको सामना गर्दैछ ।
बागमती गाउँपालिका–४ स्थित सहिद स्मृति रंगशालामा हुने आर्मी र चर्च ब्वाइजबीचको प्रतिस्पर्धा दिउँसो साढे २ बजे सुरु हुनेछ ।
विभागीय टोली आर्मी अन्तिम आठमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ । चर्च ब्वाइज पनि आर्मीको चुनौती पन्छ्याउँदै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा हुनेछ ।
यसअघि हिजो भएको खेलमा विभागीय टोली एपीएफले चितवनको भरतपुर फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन १३ गते हुनेछ ।
विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।