बागमती गोल्डकपको दोस्रो सेमिफाइनलमा थ्रीस्टार र मच्छिन्द्र भिड्ने

फाल्गुन १०, २०८१ | मकवानपुर

मकवानपुरमा जारी बागमती गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल आज हुने भएको छ । दोस्रो सेमिफाइनलमा थ्रीस्टार क्लब र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

बागमती गाउँपालिका–४ स्थित सहिद स्मृति रंगशालामा दिउँसो २ बजे थ्रीस्टार र मच्छिन्द्र क्लब आमनेसामने हुनेछन् । आजको खेलको विजेताले उपाधिका लागि ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । प्रतियोगिताको फाइनल खेल पर्सि सोमबार हुनेछ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली एपीएफ क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको छ । चर्च ब्वाइजले एपीएफविरुद्ध पुनरागन जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । 

प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता छ । सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । 


प्रतिक्रिया