जित्न नजानेको नेपाल

आश्विन १७, २०८० | काठमाडौं

नेपाली खेलाडीका लागि एसियाली खेलकुदमा सहभागिता जनाउनु भनेकै पदक जिते सरह हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता नै अत्यन्त न्यून छ । नेपाली खेलकुद हाँक्नेको दूरदर्शिता बुझ्न धेरै टाढा जानैपर्दैन । नेपालले सहभागिता जनाएको २९ मध्ये बक्सिङ, तेक्वान्दो, फुटबल, क्रिकेट, सुटिङ लगायतका खेलमा पदकको आशा समाप्त भइसकेको छ । नेपाललाई एसियाडमा सर्वाधिक पदक दिलाउने तेक्वान्दो नै लगातार चौंथोे प्रतियोगितामा पदकविहीन बन्यो । तीनमहिने प्रशिक्षणले कुनै पनि अन्र्तराष्ट्रिय प्रतियोगितामा पदक जित्न मुस्किल छ ।

सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुदबाटै सहभागिता जनाए पनि नेपालले अहिलेसम्म स्वर्ण हात पारेको छैन । सन् १९५४ र १९६२ को प्रतियोगिताबाहेक सबैमा सहभागी नेपालले १९औँ संस्करणसम्म आइपुग्दा २ रजत र २२ काँस्य पदक मात्रै आफ्नो पोल्टामा पारेको छ । कराँते, तेक्वान्दो, बक्सिङ र प्याराग्लाइडिङबाहेक अन्य खेलमा नेपाल पदकविहीन छ । चीनको होङचउमा जारी एसियाडमा नेपालबाट २९ खेलका २ सय ५३ खेलाडी सहभागी छन् । जसमा आश गरिएका केही खेलमा नेपालको प्रतिस्पर्धा सकिएको छ ।

राष्ट्रिय पुरुष भलिबल टिम जारी एसियाडमा इरान र बहराइनसँगको खेल गुमाएपछि समुह चरणबाटै बाहिरिएको थियो । नेपालले अब आम दर्शकको पहुँचमा पुग्न नसकेको डान्स स्पोर्टस्मा प्रतिस्पर्धा गर्न बाँकी छ भने, महिला कबड्डीबाट नेपालले कम्तिमा काँस्य पदकको आशा राखेको छ । आयोजक चीन सर्वाधिक पदक जित्दै शीर्ष स्थानमा छ । दक्षिण कोरिया र जापानबीच दोस्रो र तेस्रो स्थानका लागि कडा टक्कर चलिरहँदा, छिमेकी देश भारतले चौथो स्थानमा आफ्नो पकड मजबुत बनाएको छ । पदकको रस्साकस्सीमा नेपाल फितलो देखिएको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले बताइन् ।

एसियाली खेलकुद नेपाली खेलाडीले सहभागिता जनाउने उच्च तहको प्रतियोगिता हो । खेलाडीको अन्तर्राष्ट्रिय एक्सपोजरका लागि पनि यो प्रतियोगिताले महत्व राख्छ । तर, सीमित स्रोतसाधनबाट धेरै थोक आश गर्ने नेपालजस्तो मुलुकका लागि यस्ता प्रतियोगितामा सहभागी गराउनु खर्चिलो प्रयास मात्र हो । किनभने, सहभागिताका नाममा धेरै खेलाडीलाई त्यस्ता प्रतियोगितामा सामेल गराउँदा टोली जम्बो मात्रै बन्ने हो । भौतिक पूर्वाधारको अभाव, प्रशिक्षणका लागि कम समय, खेलाडीको कमजोर मनोबल आदिलाई दोष लगाएर नेपाली खेल पदाधिकारीले उम्किने बाटो खोजिरहेका छन् । यस पटकको नतिजाबाट पाठ सिक्दै आगामी एसियाडका लागि अहिलेबाटै तयारी थाल्ने बेला आएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ बताउँछन् ।

खेलाडीका लागि ठूला प्रतियोगिताको अघिल्तिर राखिने बन्दसत्रले खासै प्रभाव पारेको देखिँदैन । पहिल्यै समयतालिका घोषणा भइसकेका खेल प्रतियोगिताका लागिसमेत तयारी गर्न कञ्जुस्याइँ गर्दा पदक जित्नु त परको कुरा, राष्ट्रिय कीर्तिमानमा समेत सुधार आउन गाह्रो हुन्छ । एसियाडमा यस पटकको प्रदर्शनले ठूलो संख्याको खेलाडी सहभागिताभन्दा सम्भावनायुक्त खेलमा केन्द्रित भएर तयारी गर्नु महत्वपूर्ण विषय हो । हुन त यो विषयमा खेलकुद पदाधिकारीहरूलाई हेक्का नभएको भने होइन । तर प्रतियोगिताको तयारीका लागि सरकारले समयमै बजेट निकासा नगर्दा समस्या भएको र उत्कृष्ट नतिजा नआएको राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका निमित्त निर्देशक विष्णुुबहादुर सिंहले बताए ।

पूर्वाधार, सुविधा र तयारीको मापदण्ड पूरा नगर्ने तर अपेक्षाको भारी बोकाउँदा खेलाडीहरू त्यसैले थिचिने गरेका छन् । यसले गर्दा प्रदर्शन सन्तोषजनक नहुनु स्वाभाविक हो । भनिन्छ, कमजोर तयारीले अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुल्न मात्र काम लाग्छ, पदक जित्न होइन । नेपालले ठूला प्रतियोगितामा पदक जित्न नसक्नुका पछाडि व्याप्त पुरानै कार्यशैली लगायत कारण रहेको खेल विश्लेषक प्रकाश तिमल्सिनाको तर्क छ ।

पदक जित्न जुन स्तरको तयारी नेपालले गर्नुपथ्र्यो, त्यसमा यसपटक पनि टोली पूरै चुकेको छ । एसियाड सुरु हुनु केही अगाडि मात्रै आन्तरिक र वैदेशिक प्रशिक्षण गरेर पदकको आश गर्नु पूर्णतः बेकार हो । चारवर्षे अवधिमा कुन–कुन खेलको वर्गीकरण भयो, कहाँ–कहाँ सहभागिता जनाइयो भनेर लेखाजोखा गर्ने बेला आइसकेको छ । 


प्रतिक्रिया