एकीकृत समाजवादीको निर्णयले सत्ता समीकरणमा कस्तो असर पार्ला ?

जेष्ठ २१, २०८१ | काठमाडौं

राष्ट्रिय राजनीतिको ध्यान यतिवेला सत्तारुढ एकीकृत समाजवादीतर्फ खिचिएको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल केही दिनअघि विपक्षी दलहरुको बैठकमा सहभागी भएपछि सत्ता गठबन्धनको भविष्यलाई लिएर प्रश्न उठेका छन् । गठबन्धनमा सहभागी भएदेखि नै विभिन्न बिषयमा उठाउँदै असन्तुष्ट देखिएको एकीकृत समाजवादीको निर्णयले केन्द्रीय सत्तासमीकरणदेखि केही प्रदेशमा संसदीय अंकगणितलाई समस्या पार्ने आँकलन गरिएको छ । खासगरी मधेस प्रदेशमा बनाउन लागिएको सत्ता गठबन्धनका लागि एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण देखिएको नेताहरुले बताएका छन् । आखिरमा एकीकृत समाजवादीको निर्णयले सत्ता समीकरणमा कस्तो असर पार्ला त ? भन्ने सवाल उत्पन्न भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पछिल्लो समय असन्तुष्ट दलहरुको समर्थन जुटाएर प्रदेशदेखि केन्द्रीय समीकरण भत्काउने प्रयासमा सक्रिय रहेको बताइन्छ । वैकल्पिक गठबन्धन निर्माणका लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसहित अन्य असन्तुष्ट सत्ताघटकको साथ लिएर सत्तामा फर्किने प्रयास गरिरहेको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ । यही अवस्थामा एकीकृत समाजवादीका नेताहरुले प्रकट गरेको असन्तुष्टीले कतै सत्ता गठबन्धन अप्ठ्यारो पर्ने त होइन भन्ने शंका गरिदैछ । त्यसैको पृष्ठभूमिमा सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल काठमाडौको बुढानिलकण्ठस्थित कंग्रेस सभापति शेरवहादुर देउवाको निवासमा जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपासहितको बैठकमा सहभागी भएपछि गठबन्धन सरकारको भविष्यमाथि फेरि एक पटक आशंका उत्पन्न भएको हो । केन्द्रीय सत्तागठबन्धनबाट एकीकृत समाजवादी अलग भइहाले यसले गठबन्धनको संसदीय अंकगणितमा खासै उतारचढाव नआउने देखिएपनि निकट भविष्यमा समस्या निम्त्याउने बुझाई गठबन्धनका शीर्ष नेताहरुमा देखिन्छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाल विपक्षी दलको बैठकमा सहभागी भएपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वयम् सार्वजनिक अभिव्यक्ति दिए । विराटनगरमा गत विहिवार सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री दाहालले समाजवादीका अध्यक्ष नेपाल सत्तासमीकरण भन्दा बाहिर नजाने स्पष्ट पारे । मधेशमा समीकरण बाहिर कोही नहुने प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्रीको तेस्रो इनिङमा रहेका दाहालले सरकार गठनको डेढ वर्षको अवधिमै तेस्रो पटक सत्तासमीकरण फेरबदल गरेका छन् भने चौथो पटक विश्वासको मत लिन सफल भए । गत फागुन २१ मा एमाले र रास्वपासहितको नयाँ समीकरण बनाएपछि ढिलै भएपनि एकीकृत समाजवादी समीकरणमा जोडियो र लगत्तै समाजवादीसहित सत्तारुढ ५ दलले पुर्नगठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने भन्दै ७ बुँदे सहमति पनि गरिएको थियो । तर केन्द्रदेखि प्रदेश सरकारसम्म सम्मानजनक उपस्थिति दिनुको साटो ठूला दलबाट अपमान बेहोर्नुपरेको गुनासो एकीकृत समाजवादीका नेताले गर्न छाडेका छैनन् । सुदूरपश्चिम सरकारलाई पूर्णता दिन नसघाएको, कर्णाली र कोशीमा एमालेको नेतृत्वमा आफ्नो दललाई सहभागि नगराएको लगायत बिषयमा सहमतिका आधारमा टुंग्याउनुपर्ने स्थिति रहेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए ।

एकीकृत समाजवादीको असन्तुष्टीका बीच मधेस प्रदेशमा नयाँ सरकार बनाउने बिषयमा दलहरुबीच रस्साकस्सी चलिरहेको छ । केन्द्रीय सत्ता गठबन्धन चाहि उपेन्द्र यादव नेतृत्वको पार्टी जसपा नेपालका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीबाट विस्थापित गरी जनमत पार्टीलाई नेतृत्व दिने गृहकार्यमा छन् । त्यसका लागि एकीकृत समाजवादीले समर्थन गर्नुपर्ने अवस्था छ । यता, उपेन्द्र यादवको पार्टी भने कंग्रेस, लोसपासहितका दलको समर्थन लिएर मुख्यमन्त्री यादवलाई निरन्तरता दिने रणनीतिमा छ । त्यति मात्र होइन केन्द्रीय सत्तागठबन्धनको घटक एकीकृत समाजवादीलाई समेत आफ्नो पक्षमा ल्याउने जसपा नेपालको योजना छ । हालैको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले राखेको धारणालाई उल्लेख गर्दै जसपा नेपालका प्रवक्ता मनिष सुमनले मधेश प्रदेश सरकारको निरन्तरता चाहे पनि पार्टीले औपचारिक निर्णय गरिनसकेको बताए । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुअघि पार्टीमा छलफल गरि ठोस निर्णयमा पुग्ने एकीकृत समाजवादी अध्यक्ष नेपालको भनाइ छ ।

केन्द्रीय सरकारबाट उपेन्द्र यादवको पार्टी बाहिरिलगत्तै एमाले र माओवादी केन्द्रले सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन नै फिर्ता लिदाँ एकीकृत समाजवादीको समर्थन भने कायमै छ । आगामी बुधबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री यादव एकीकृत समाजवादीको निर्णय कुरिरहेका छन् । यस्तो अवस्थामा एकीकृत समाजवादीको निर्णयले मधेस प्रदेशको सरकारको भविष्य निर्धारण हुने देखिन्छ । तर एकीकृत समाजवादीले कुनै ठोस निर्णय लिएको छैन । अध्यक्ष नेपालले आइतवार आयोजित पत्रकार सम्मेलनमा छिट्टै सचिवालय बैठकबाट निर्णयमा पुगिने बताए ।

एकीकृत समाजवादी केन्द्रीय गठबन्धनकै नयाँ समीकरणमा लाग्दा जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकार विस्थापित हुने लगभग निश्चितः छ । एकीकृत समाजवादीले मधेस प्रदेश सरकारका हकमा निर्णय गरिनसक्दा सोही दलका नेताहरुको अभिव्यक्ति भने बाँझिएको देखिन्छ । सम्मानित नेता खनालले केन्द्रकै समीकरण अनुसार मधेस प्रदेशमा सरकार बन्ने दावी गरे । नेता खनालले केन्द्र एउटा र प्रदेशमा अर्को समीकरणले पार्टीमा आन्तरविरोध हुन सक्ने हुुँदा केन्द्रीय समीकरणअनुसार नै प्रदेशमा समीकरण बन्ने बताए ।

१ सय ७ सदस्यीय मधेश प्रदेशसभामा सरकार जोगाउन आवश्यक ५४ सांसदका लागि मुख्यमन्त्री यादवले कांग्रेसको २२, जसपा नेपालको १९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ गरि ५६ सांसद पु¥याउने योजना बनाएका छन् । अहिलेको राजनीतिक परिदृश्य हेर्दा संसदीय अकंगणित अनुसार मुख्यमन्त्री यादवलाई कम्तिमा एकीकृत समाजवादीको समर्थन चाहिने भएकाले मधेस प्रदेशको राजनीतिले केन्द्रीय गठबन्धनलाई समेत असर पार्न सक्ने देखिएको हो । 


प्रतिक्रिया