दाङ डायरी

फाल्गुन १, २०७९ | दाङ

नेपाल–भारत सीमा क्षेत्रमा खट्ने सुरक्षाकर्मीलाई आधारभूत सुबिधा नहुँदा सास्ती भएको छ । बत्ती, खानेपानी, बाटो, सञ्चार जस्ता सुबिधा अभावमा उनीहरुलाई काम गर्न कठिन भईरहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङका प्रमुख प्रहरी उपरिक्षक गोपाल प्रसाद श्रेष्ठले बताउनुभयो । आफ्नै देशको भूभागमा पुग्न पनि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । दाङको ८६ किलोमिटर सीमा रक्षाका लागि नेपाली सुरक्षाकर्मी खटिएका छन् । सीमामा पाँच वटा बोर्डर आउट पोष्ट र आठ वटा अस्थायी सीमा सुरक्षा चौकी रहेको उहाँले जानकारी दिनुभयो । दाङमा ३७ मुख्यसहित ७७ वटा सीमा स्तम्भ छन् ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती हुने गरेको छ । घण्टौंसम्म बैंकमा लाइन लागेर भत्ता बुझ्नुपर्ने अवस्थाको अन्त्य गरी सरकारले घरघरमै या वडा कार्यालय मार्फत भत्ता पाउने व्यवस्था गर्नुपर्ने सेवाग्राहीको माग छ । बैंकिङ प्रणालीबाट मात्रै भत्ता वितरण गर्नुपर्ने नियम भएका कारण यसको विकल्प नभएको घोराही उपमहानगरपालिका सामाजिक सुरक्षा शाखा प्रमुख दिवाकर योगीले बताउनुभयो । सरकारले ६८ वर्ष माथिका ज्येष्ठ नागरिकलाई महिनाको चार हजार, ६० वर्ष माथिका दलित ज्येष्ठ नागरिक, ६० वर्ष माथिका एकल ज्येष्ठ नागरिक र विधवा महिलालाई २ हजार ६ सय ६० रुपैयाँ मासिक भत्ता दिंदै आएको छ । त्यसैगरी लोपोन्मुख जातजातिलाई ३ हजार ९ सय ९० र पाँच वर्षमुनिका दलित बालबालिकालाई ५ सय ३२ रुपैयाँका दरले भत्ता वितरण हुन्छ ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले पढ्दै, कमाउँदै अभियान सञ्चालन गरेको छ । विद्यार्थीलाई उद्यमी बनाउने योजना अनुसार अभियानलाई सामुदायिक विद्यालयमा सञ्चालन गरिएको कलेज प्रमुख बसन्त आचार्यले बताउनुभयो । सामुदायिक विद्यालयका विद्यार्थीलाई भविष्यमा पढ्दै, कमाउँदै र उद्यमी कसरी बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिने गरेको उहाँले बताउनुभयो । विद्यार्थीलाई वन र कृषि क्षेत्रसँग सम्बन्धित विरुवा उत्पादन, बेमौसमी खेती, नर्सरी निर्माण लगायतका काम पनि सिकाइरहेको उहाँले जानकारी दिनुभयो ।

तुल्सीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा डायलासिस सेवा लिने बिरामीहरुले समयमै सेवा पाउन सकेका छैनन् । ८१ जना मिर्गौलाका बिरामीले नियमित डायलासिस गर्दै आएकोमा लामो समय पालो कुरेर बस्नुपर्ने बाध्यता छ । प्रादेशिक अस्पतालमा अहिले चार वटा डायलासिस मेसिन मात्र सञ्चालनमा छ । बिरामीको चापलाई मध्यनजर गर्दै सरकारले केही समय अघि मात्रै आठ वटा मेसिन उपलव्ध गराएको थियो तर ती मेसिन जडान नभएर तीन वटा नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ । पाँच वटा जडान नभई अस्पतालमै थन्किएका छन् । मेसिन जडान गर्ने रकम र प्राविधिक नहुँदा उपलब्ध मेसिन पनि प्रयोगमा आउन नसकेको अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा. ओम अर्यालले बताउनुभयो । अस्पतालले दैनिक आठ जनालाई मात्र सेवा दिइरहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया