२१ औं शताब्दीका चुनौती सामना गर्न एक सय ९३ मुलुक सहमत

आश्विन ८, २०८१

संयुक्त राष्ट्रसंघको महासभाले २१ औं शताब्दीका चुनौतीहरूको सामना गर्न “भविष्यका लागि सम्झौता” तयार गर्ने सहमति जनाएको छ । सबै राष्ट्रहरूलाई यथाशिघ्र मिलेर काम गर्न र सम्झौतामा भएका ५६ कार्यहरू कार्यान्वयन गर्न चुनौती हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्र संघका १ सय ९३ सदस्य मुलुकहरुले स्वीकृत गरेको सो सम्झौतामा जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता, द्वन्द्व, असमानता र गरिबी जस्ता समस्याहरूको सामना गर्न राष्ट्रलाई एकताबद्ध गर्ने लक्ष्य राखिएको छ । 

जसले ८ अर्बभन्दा बढी मानिसहरूको जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा विश्व नेताहरुले विश्वव्यापी चुनौतीबारे आफ्नो धारणा राखेका थिए । सम्मेलनलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्रताको सम्मान गर्ने प्रविधिको विश्वव्यापी नियमनको आवश्यकतामा जोड दिनुभयो । चिनियाँ विदेशमन्त्री वाङ यीले भूराजनीतिक समूहमा विभाजन हुने र आफ्नै तर्फबाट प्रतिबन्ध लगाउने देशहरूको बारेमा चिन्ता व्यक्त गर्नुभयो । अंगोला, इक्वेडर, स्लोभाकियालगायतका नेताहरूले पनि असमानता, बेरोजगारी र गलत सूचनाको प्रचारप्रसार जस्ता मुद्दाहरू उजागर गरेका छन् । 


प्रतिक्रिया