पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति: राजनीतिक परिवर्तनले जनतामा निराशा मात्रै

रेडियो कान्तिपुर संवाददाता

आश्विन १४, २०७९ | काठमाडौं


पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको राजनीति पदलोप, भागवण्डा र सुविधाका लागि मात्रै केन्द्रीत हुँदा जनताको आशामा कुठाराघात भएको बताउनुभएको छ । दशैं पर्वको अवसरमा आज भिडियो मार्फत शुभकामना सन्देश मार्फत पूर्वराजा शाहले सिद्धान्त र जनविश्वासका दृष्टिकोणले दलहरु कत्ति उत्तरदायी भए भन्ने गम्भिर प्रश्न उब्जिएको बताउनुभयो । लोकतान्त्रिक व्यवस्थामा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधि छान्ने व्यवस्था भएपनि दलहरु सत्ता केन्द्रीत हुदाँ जनताको आशामा कुठाराघात भएको शाहले टिप्पणी गर्नुभयो । 

राजनीति सत्ता स्वार्थ र भागवण्डामा मात्रै केन्द्रीत भएको शाहको भनाइ छ । राज्यका अंगहरुबीच चरम विकृति उत्पन्न हुँदा जनताले दुख पाईरहेको शाहले बताउनुभयो । मुलकमा आएको राजनीतिक परिवर्तन पछिको पछिल्लो १५ वर्षमा जनतामा निराशा मात्रै उत्पन्न भएको शाहको भनाई छ । राजनीति र न्यायलयमा विचलन एवं राज्यप्रतिको दायित्व बोझ नहुँदा जनताको भविश्य नै अन्योलमा परेको शाहले बताउनुभयो ।

राष्ट्रिय स्वाधिनता एवं सार्वभौम सत्तालाई असफलतातर्फ धकेल्ने जोखिम बढेको शाहले बताउनुभयो । मुलुकलाई देशी विदेशीको क्रिडास्थल बनाउने खेल भइरहेको शाहले बताउनुभयो । 


प्रतिक्रिया