चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

श्रावण ११, २०८१

नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीद्वारा सार्वजनिक मौद्रिक नीतिमा अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ ।

सरकारले आर्थिक वर्ष २०८१ ०८२ मा बजेट बक्तब्यमा मुद्रास्फितिको ५ दशमलव ५ प्रतिशतको सीमा भित्र रहने अनुमान गरेको छ । मुद्रास्फितिका कारकलाई मध्यनजर गर्दा सो सीमाभित्रै रहने गर्भनर अधिकारीले प्रक्षेपण गर्नुभयो । मध्यपूर्वको भूराजनीतिक तनाव जारी नै रहेकाले इन्धन र खाद्यान्नको मुल्यवृद्धि भइरहेको उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई कर्जा तिर्नका लागि समयसीमा बढाउने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाईनिश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गर्ने बताउनु भएको हो । लघुवित वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने समेत मौद्रिक नीतिमा उल्लेख छ ।

लघुवित्त वित्तीय संस्थाको सेवासम्बन्धमा रहेका गुनासाको सम्बोधन गर्दै ग्राहक हित संरक्षण गर्न अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राखी आवश्यक नियामकीय व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै लघु, घरेलु साना एवं मझौला उद्यमका लागि तोकिएको कर्जाको सीमा पुनरावलोकन गरिने भएको छ । 


प्रतिक्रिया