भूमिसम्बन्धि अध्यादेशमा लोसपाले पनि समर्थन नगर्ने

माघ ३०, २०८१

सरकारले ल्याएका अध्यादेशहरु पारित गर्न सकस भइरहेका बेला सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले समेत भूमिसम्बन्धि अध्यादेशमा समर्थन नगर्ने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालले भूमि सम्बन्धि अध्यादेशमा समर्थन नगर्ने निर्णय गरेलगत्तै सत्तारुढ लोसपाले पनि सो अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने निर्णय गरेको हो । सत्तारुढ लोसपाको निर्णयले सरकारलाई अध्यादेश पारितको सन्दर्भमा दवाव सृजना गर्न सक्ने देखिएको छ । 

सो पार्टीका अध्यक्ष महन्थ ठाकुरद्धारा जारी विज्ञप्तिमा वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई अध्यादेशले बढावा दिने टिप्पणी गरिएको छ । अध्यादेशको अन्तर्यको अध्ययन गर्दा समग्रमा गरिव र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, राजवंशी, रानाथारु लगायत समुदायलाई जग्गा प्राप्तिबाट वञ्चित गरिने अवस्था भएको लोसपाको भनाइ छ । लोसपाले समेत समर्थन नगर्दा प्रतिनिधिसभाबाट अध्यादेश पास गर्न अप्ठ्यारो नभएपनि राष्ट्रिय सभामा भने बहुमत पु¥याउन कठिन हुने देखिन्छ । प्रतिनिधिसभामा लोसपाका चार र राष्ट्रिय सभाका एक सांसद छन् । 


प्रतिक्रिया