राजावादी आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने

चैत्र १७, २०८१ | काठमाडौं
राजावादी आन्दोलनको नेतृत्व अब नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले गर्ने हुनुभएको छ ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफ्नो अनुपस्थितिमा गुरुङले आन्दोलनको नेतृत्व गर्ने बताउनुभएको हो । सरकारले आफूलाई नजरबन्दमा राखेको उल्लेख गर्दै सुवेदीले प्रेस विज्ञप्ति मार्फत आन्दोलन निरन्तर राख्न समेत आह्वान गर्नुभएको छ ।
व्यवसायी दुर्गा प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो ।
सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गर्नुभएको छ । यसैबीच, गत शुक्रवार काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन भएपछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईले आज अपरान्ह एउटा भिडियो सन्देश जारी गर्नुभएको छ । प्रसाईले आफू काठमाडौंको एक मन्दिरमा बसिरहेको दावी गर्नुभएको छ ।