पाकिस्तानमा अध्ययनरत नेपालीको सुरक्षाबारे सचेत रहेको सरकारको भनाइ

वैशाख २६, २०८२ | काठमाडौं
नेपाल सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवम् अन्य नेपालीको सुरक्षाका लागि सचेत रहेको जनाएको छ ।
भारत–पाकिस्तान युद्धको पृष्ठभूमिमा परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै पाकिस्तानमा रहेका नेपालीको सुरक्षा अवस्थाबारे जानकारी दिएको हो । पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको विज्ञप्तीमा उल्लेख छ ।
साथै, मन्त्रालयले सो विषयमा कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावक, आफन्तलाई दूतावासमा रहेका प्रतिनिधिलाई सम्पर्क गर्न आग्रह समेत गरेको छ । यसैबीच नेपालस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकलाई नेपाल–भारत सीमा क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।
भारत र पाकिस्तानबीचको तनावपूर्ण अवस्थालाई उल्लेख गर्दै दूतावासले नेपालमा रहेका आफ्ना नागरिकलाई नेपाल–भारत सीमा क्षेत्र नजान र भारतीय भूमिमा जानुअघि सावधानी अपनाउन आग्रह गरेको समाचारमा जनाइएको छ ।