ललितपुरको ग्वार्कोमा निर्माण गरिएको ओभरपासको काम अन्तिम चरणमा

असार २, २०८२ | काठमाडौं
ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ओभरपासको काम अन्तिम चरणमा पुगेको छ ।
बहुप्रतिक्षित ओभरपासको मुख्य काम सकिएसँगै अहिले रंगरोगन र कालोपत्रेको काम भइरहेको हो । अबका केही दिनमै गाडी गुड्न मिल्ने गरी काम सम्पन्न हुने सडक विभागले जनाएको छ ।
२०७८ साल फागुन १२ मा सुरू भएको सम्झौताअनुसार दुई वर्षमा सम्पन्न हुनुपर्ने आयोजना म्याद थप गर्दै डेढ वर्ष ढिलो सम्पन्न हुन लागेको हो । ओभरपास चालु भएपछि ग्वार्को चोकको ट्राफिक जाम हट्ने अपेक्षा गरिएको छ ।
कलंकी–कोटेश्वर सडक खण्डका सवारीसाधन माथिबाट र ग्वार्को–लामाटार तथा ग्वार्को–पाटनतर्फका सवारीसाधन तलबाट गुड्ने छन् । १७ करोड ६ लाख ८८ हजार रुपियाँ लागतमा ओभरपास निर्माण गरिएको हो ।