डेंगी संक्रमण घट्दो क्रममा

असार २, २०८२ | काठमाडौं
पछिल्लो केहीदिन यता डेंगी संक्रमण घट्दो क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो तथ्यांकअनुसार जुन लागेयता संक्रमितको संख्यामा कमी आएको हो । मे महिनामा संक्रमितको संख्या २ सय ८२ रहेकोमा जुनमा हालसम्म ८४ जना मात्र रिपोर्ट भएको महाशाखाको तथ्यांकमा उल्लेख छ ।
गत वर्ष यही अवधिमा ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो ६ महिनामा मुलुकभर एक हजार ३ सय ४ जनामा डेंगी पुष्टि भएको महाशाखाको तथ्यांक छ । ७२ जिल्लामा डेंगी फैलिएकामा सबै भन्दा धेरै काठमाण्डौंमा एक सय ४० जना संक्रमित भेटिएका छन् ।
यस्तै बागमती प्रदशेमै सबैभन्दा धेरै ३ सय ४८ जनामा डेंगी पुष्टि भएको छ । यसैबीच मनसुन शुरु भएसँगै डेंगीको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।