अन्तर्राष्ट्रिय स्तरको दौड सम्मेलन काठमाडौंमा हुँदै

चैत्र १७, २०८१ | काठमाडौं
काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको दौड सम्मेलन हुने भएको छ । रेस नेपाल र नेपालगन्ज म्याराथनको आयोजनामा हुन लागेको इन्टरनेसनल रनिङ कन्फ्रेन्स आगामी जेठ २३ गते हुनेछ ।
विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)सँगको सहकार्यमा दौडसम्बन्धि अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुन लागेको हो ।
एम्सको बोर्ड बैठकको अवसर पारेर कन्फ्रेन्सको यात्रा आरम्भ गर्न लागिएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए । नेपालमा एशियाली देशबाट रनिङ समुदायलाई एकै थलोमा जमघट गराई अनुभव आदानप्रदान गर्ने केही सिक्ने र केही सिकाउने मन्चका रुपमा यो कन्फ्रेन्स थालनी गरिएको आयोजकले जनाएको छ ।
एशियाली मुलुकमा केही अगाडि नै दौड सम्बन्धि यस्ता कार्यक्रम आयोजना हुँदै आएपनि दक्षिण एशियामा पहिलोपटक नेपालमा यस वर्षदेखि सुरु गर्न लागिएको हो ।
कन्फ्रेन्स आयोजनाका लागि नेपालका प्रमुख रनिङ इभेन्ट आयोजक, एथलेटिक्सको विकासमा क्रियाशील व्यक्तित्व र संस्थाका साथै शिक्षा, खेलकुद, पर्यटन, सामाजिक तथा आर्थिक क्षेत्रका अगुवालाई समेटेर मुल आयोजक समिति गठन गरिने र कन्फ्रेन्समा समेत सहभागी गराइने छ ।
कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चारवटा सेसन रहने छन् । कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतना, इन्डोनेसिया, सिंगापुर लगायत दक्षिण एशियाली राष्ट्रहरु गरी दुई दर्जन बढी देशका प्रतिनिधिको सहभागिता रहनेछ ।