५ वर्षमा १३ हजार बढीले सुरक्षित गर्भपतन गराए

असार ५, २०८० | वीरेन्द्रनगर

कर्णाली प्रदेशको सुर्खेतमा ५ वर्षमा १३ हजार बढीले सुरक्षित गर्भपतन गराएका छन् । पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म १३ हजार २ सय ८५ जनाले सुरक्षित गर्भपतन गराएका जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७५ /०७६ मा ३ हजार २ सय २ जनाले सुरक्षित गर्भपतन गराएका छन् । यस्तै, आर्थिक वर्ष २०७६ /०७७ मा २ हजार ६ सय ३ जनाले सुरक्षित गर्भपतन गराए ।

यस्तै, आर्थिक वर्ष २०७७ / ०७८ मा सुरक्षित गर्भपतन गराउनेको संख्या २ हजार ४ सय ९१ थियो भने आर्थिक वर्ष २०७८ / ०७९ मा २ हजार ६ सय १५ पुग्यो । चालु आर्थिक वर्षको हालसम्म २ हजार ३ सय ७४ जनाले सुरक्षित गर्भपतन गराएका छन् । यो संख्या अझै बढ्न सक्ने कार्यालयको अनुमान छ । गर्भपनत गराउनेमध्ये ८ हजार ६ सय ७९ जनाले मेडिकल र ४ हजार ६ सय ६ जनाले सर्जिकलको माध्यमबाट गर्भपतन गराएका जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतकी पब्लिक हेल्थ नर्सिङ निरीक्षक अञ्जना भण्डारीले बताउनुभयो ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गर्न मिल्छ । यस्तै, गर्भवतीको ज्यान खतरामा हुनसक्ने तथा विकलाङ्ग बच्चा जन्मने भनी ईजाजत प्राप्त चिकित्सकको रायमा २८ हप्तासम्म गर्भपतन गर्न मिल्ने उल्लेख छ । 


प्रतिक्रिया