मधेस प्रदेशमा पहिलोपटक सरकारीस्तरमा एमबीबीएसको पढाइ हुने

भाद्र २२, २०८१ | जनकपुर

मधेस प्रदेशमा पहिलोपटक सरकारीस्तरमा एमबीबीएसको पढाइ हुने भएको छ । चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस अध्यापनका लागि यसवर्ष ५० सिटमा भर्ना लिन अनुमति दिएको हो । 

यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । ४ वर्षअघि जनकपुरमा स्थापना भएको मधेश स्वास्थ्य प्रतिष्ठानले ५० सिट पाएसँगै एमबीबीएसको पढाई थाल्ने तयारी गरिएको जनाएको छ । 

मुख्यमन्त्री सतिशकुमार सिंहले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा प्रतिष्ठान मार्फत एमबीबीएसको अध्ययन सुरु गरिने प्रतिवद्धता जनाउनु भएको थियो ।

सोही क्रममा उहाँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.अञ्जनीकुमार झा लगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधार लगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबीबीएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गर्नु भएको थियो । 

प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउने मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले जानकारी दिनुभयो । 

मधेश प्रदेशमा निजी क्षेत्रमा जनकपुरको जानकी मेडिकल कलेज र वीरगञ्जको नेशनल मेडिकल कलेजमा एमबीबीएसको पढाई हुँदै आएको छ । 


प्रतिक्रिया