ट्रम्पमाथि प्रहारः विश्वको ध्यानाकर्षण

असार ३०, २०८१

चुनावी र्‍यालीमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारको घटनालाई लिएर विश्वका नेताहरूले भत्सर्ना गरेका छन् । गोली प्रहार हुँदा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको कानमा चोट लागेको छ । बेलायती प्रधानमन्त्री केयर स्टारमरले राष्ट्रपति ट्रम्पको ¥यालीमा देखिएको दृष्यले आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले राजनीतिक हिंसा आधुनिक समाजमा अमान्य हुने पनि बताउनु भएको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजनीतिक हिंसा कहिल्यै स्वीकार्य नहुने बताउनु भएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले लोकतन्त्रलाई चुनौती दिने कुनै पनि प्रकारको हिंसाको विरुद्धमा दृढ उभिनुपर्नेमा जोड दिनु भएको छ । यस्तै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रपतिका उम्मेदवारमाथि प्रहार हुनु भनेर लोकतन्त्रमाथिकै खतरा रहेको उल्लेख गर्नु भएको छ । 

त्यस्तै जर्मन चान्सलर ओलाफ स्कोल्जले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि भएको हमला निन्दनीय रहेको बताउनु भएको छ । 

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफ, पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की लगायतले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन् । 


प्रतिक्रिया