जपानमा पर्यटक आवागमन यो वर्ष उच्च

श्रावण ४, २०८१ | काठमाडौं

जापानमा यो वर्षको मध्यसम्म करिव पौने २ करोड पर्यटकले भ्रमण गरेका छन् ।

सन् २०२४ को जुन महिनासम्म १ करोड ७७ लाख ८० हजार पर्यटकले जापानको भ्रमण गरेको त्यहांको राष्ट्रिय पर्यटन संस्थालाई उद्धत गर्दै समाचार संस्था अलजजिराले जनाएको छ ।

पछिल्लो समय जापानमा हाल भएको पर्यटकको आवागमन कोभिड संक्रमण महामारी भन्दा पहिलेको जस्तो अवस्थामा पुगेको जनाइएको छ ।

सन् २०१९ को तुलनामा हालको संख्या १० लाखले बढी भएको जनाइएको छ ।

जापानी मुद्रा एन डलरको तुलनामा कमजोर भएसंगै पर्यटन आवागमनमा बृद्धि भएको विश्लेषण समेत भएका छन् । एन कमजोर हुंदा पर्यटनको क्रयशक्ति बढ्ने भएकाले पनि सकारात्मक प्रभाव परेको जनाइएको छ ।

जापान भ्रमण गर्नेमध्ये सबैभन्दा धेरै दक्षिण कोरियाका छन् ।यो वर्ष कोरियाबाट मात्र ४४ लाख जनाले भ्रमण गरेका छन् ।

कोरियन पश्चात क्रमश चिनियां, ताइवानिज र अमेरिकनहरु जापान भ्रमण गर्नेको सूचीमा अग्रपन्थीमा छन् । पर्यटकको संख्यामा बृद्धि भएसंगै दशक देखि सुस्ताएको जापानको अर्थतन्त्रमा केही सुधार हुने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया