अमेरिकी गुप्तचर सेवाकी निर्देशकले दिए राजीनामा

श्रावण ९, २०८१ | काठमाडौं

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या प्रयासको घटनामा सुरक्षा प्रबन्ध गर्न नसकेको स्वीकार्दै अमेरिकी गुप्तचर सेवाकी निर्देशक किम चिटलले पदबाट राजीनामा दिनुभएको छ । 

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी र्‍यालीमा घाइते हुनबाट रोक्न असफल भएपछि उहाँको चौतर्फी आलोचना हुँदै आएको थियो । उहाँले आफ्ना कर्मचारीलाई राजीनामा पत्र बुझाउँदै सुरक्षामा भएको त्रुटिबारे पूणर् रुपमा जिम्मेवारी लिएको उल्लेख गर्नुभएको छ ।

यही जुलाई १३ मा एक चुनावी र्‍यालीमा भएको हमलामा पूर्वराष्ट्रपति ट्रम्पको कानमा चोट लागेको थियो । सो घटनाबारे अमेरिकी संसदमा भएको सुनुवाई पछि डेमोक्र्याट र रिपब्लिकन दुवै तर्फका सांसदले गुप्तचर सेवाको निर्देशक चिटललाई राजीनामाको दबाब दिएका थिए । 

गोली काण्डबारे सांसदहरुको प्रश्नको जवाफ दिन अस्वीकार गरेपछि सांसदहरु चिटलसँग रुष्ट थिए । यसैबीच, सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ट्रम्पले राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस प्रशासनले पूणर् रुपमा आफ्नो सुरक्षा प्रबन्ध गर्न नसकेको उल्लेख गर्नुभएको छ ।


प्रतिक्रिया