ठूला उद्योगको विद्युत महसुलको बिषयलाई लिएर प्रधानमन्त्री र माओवादी सांसदबीच संसदमा सवाल–जवाफ

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०८१ | काठमाडौं

ठूला उद्योगले विद्युत महसुल नतिरेको विषयमा प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसदबीच संसदमा सवालजवाफ भएको छ ।

प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले महसुल नतिरेपछि विद्युत प्राधिकरणले काटेको लाइन जोड्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको अभिव्यक्ति दिएपछि विवाद उत्पन्न भएको हो ।

शुन्य समयमा बोल्दै सांसद दाहालले अदालत र सार्वजनिक लेखा समितिको निर्देशन अवज्ञा गर्दै प्रधानमन्त्री ओलीले महसुल मिनाहा गर्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

सांसद दाहालले उठाएको विषयलाई प्रधानमन्त्री ओलीले प्रश्नोत्तर कार्यक्रमका क्रममा सम्वोधन गर्ने प्रयास गर्दै आफूमाथि झुठा आरोप लगाउन खोजिएको गुनासो गर्नुभएको थियो । संसदमा आफूले बोलेको विषयलाई गलत ढंगमा व्याख्या गरिएको ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले सरकार आवेश, उत्तेजना, आग्रह, पूर्वाग्रहमा नभएकाले संसदको मर्यादा अनुसार अभिव्यक्ति दिन आग्रह गर्नुभयो । भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप लगाउने काम गर्न नहुने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले बोलिरहँदा माओवादी केन्द्रका सांसद वर्षमान पुनले आपत्ति जनाउनुभएको थियो । प्रधानमन्त्रीलाई विषय केन्द्रीत गराउन रूलिङ हुनुपर्ने माग सांसद पूनले गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विषयमा प्रवेश गर्न निर्देशन दिनुभएको थियो ।

केही साताअघिसम्म एउटै सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रका नेताहरुबीच सत्तासमीकरण बदलिएपछि संसदमा आरोप–प्रत्यारोप सुरु भएको हो ।  


प्रतिक्रिया