बाग्मतीमा कांग्रेस-एमालेबीच मन्त्रालयको भागबण्डा टुंगियो

श्रावण ८, २०८१ | मकवानपुर

बाग्मती प्रदेशमा नेपाली कांग्रेस-नेकपा एमालेबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ । प्रदेशमा कांग्रेसले ७ वटा र एमालेले ६ वटा मन्त्रालयको नेतृत्व गर्ने गरी सहमति भएको हो । 

सहमति अनुसार एमालेले निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले लिएको ५ वटा र समाजवादीले सम्हालेको कृषि तथा पशुंपक्षी विकास मन्त्रालयको नेतृत्व गर्ने भएको छ । 

कांग्रेसले यसअघि माओवादीले प्राप्त गरेको ३ वटा, समाजवादीले लिएको २ वटा हाम्रो नेपाली पार्टीको नेतृत्वमा रहेको एउटा मन्त्रालयको जिम्मेवारी लिने भएको हो । कांग्रेसले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने भएको हो । 

एमालेले आर्थिक मामिला तथा योजना, खानेपानी, ऊर्जा तथा सि“चाइ, वन तथा वातावरण, स्वास्थ्य, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिने सहमति भएको छ । 

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दुई दलबीच सहमति भइकसेको बताउनुभयो । ‘सहमति भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘एमाले संसदीय दलका नेता काठमाडौंबाट आउँदै गरेका कारण हामी कुरिरहेका छौं ।’ 

लामाले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेश गर्नु अगाडि सबै विषय टुंगिने बताउनुभयो । एमालेका नेता जग्गनाथ थपलिया मन्त्रालय बाँडफाँड र पार्टीभित्र मन्त्री बनाउने विषयमा आन्तरिक छलफलका लागि सोमबार काठमाडौं जानु भएको थियो ।

कांग्रेस सांसद कुन्दनराज काफ्लेले सहमतिको विषयमा सांसदहरु अनविज्ञ रहेको बताउनुभयो । ‘दलका नेताहरुले सहमति भयो भन्नु भएको छ’, काफ्लेले भन्नुभयो, ‘उहाँहरुले सार्वजनिक गर्नु भएको छैन ।’ उहाँका अनुसार दुई नेतावीच टेलिफोन सम्पर्कबाटै सहमति भएको हो ।

कांग्रेस-एमालेवीच खेलकुद, कृषि र श्रम मन्त्रालयको भागबण्डाको विषयमा विवाद रहँदै आएको थियो । कांग्रेसले सांसद संख्योको आधारमा मन्त्रालयको विभाजन गर्नुपर्ने बताउँदै आएको थियो । 

एमालेले भने केन्द्रबाटै सहमतिमा बराबर मन्त्रालयको भागबण्डा भएकाले सोही अनुसार अगाडि बढ्न जरुरी रहेको औंल्याउँदै आएको थियो । स्रोतका अनुसार अझै पनि कृषि र खेलकुद मन्त्रालयको नेतृत्व परिवर्तन हुनसक्छ । 

एमालेभित्र मन्त्री बन्ने र संख्याको विषयमा विवाद हुँदा नयाँ मुख्यमन्त्रीको दाबीमा ढिलाइ हुँदै आएको छ । बहुमत सांसदको हस्ताक्षरसहित कांग्रेस नेता लामाले सोमबार बिहान १० बजे प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेपनि एमालेभित्र विवाद हुँदा रोकिएको हो । 

आज मंगलबार बिहान ११ बजे लामाले मुख्यमन्त्रीमा दाबी पेश कांग्रेस सांसद छिरिङदोर्जे लामाले जानकारी दिनुभयो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । केन्द्रीय समीकरण अनुसार बाग्मतीमा नेकपा एमालेको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको हो ।

कुल १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ मत आवश्यक पछृ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।


प्रतिक्रिया