रुकुम पूर्व १ मा माओवादी केन्द्रका घर्ती निर्वाचित

मंसिर ७, २०७९ | रुकुम पूर्व

रुकुम पूर्वको निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित हुनु भएको छ । नेकपा एमालेका कैलाश कुमार मल्ललाई ७ हजार ५१ मतान्तरले पराजित गर्दै घर्ती प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो । 

यसअघि लुम्बिनी प्रदेशका सभामुख समेत रहेका घर्तीले १२ हजार २ सय ६२ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मल्लले ५ हजार २ सय ११ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, रुकुम पूर्व क्षेत्र नम्बर १ (२) मा नेपाली कांग्रेसका धनबहादुर केसी विजयी हुनु भएको छ । स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई २ हजार ६ सय १८ मतान्तरले पराजित गर्दै केसी प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो । 

केसीले ४ हजार ८ सय ६२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी खड्काले २ हजार २ सय ४४ मत प्राप्त गर्नुभयो । प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्णबहादुर घर्ती र प्रदेश सभा सदस्य धनबहादुर केसी दुबैजना सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार हुन् । 

रुकुम पूर्व क्षेत्र नम्बर १ (१) को मतगणना हिजो नै सकिएको थियो । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार सुरुल पुनले ४ हजार ४ सय ६५ मत ल्याएर विजयी हुनु भएको थियो । योसँगै रुकुम पूर्वको मतगणणा सकिएको छ ।


प्रतिक्रिया