जसपा नेपालको प्रथम महाधिवेशन आजदेखि
जेष्ठ २८, २०८१ | जनकपुर
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम महाधिवेशन धनुषामा आज (सोमबार) सुरु हुँदैछ । जनकपुरको ऐतिहासिक तिरहुतिया गाँछीमा निर्माण गरिएको भब्य पन्डालमा जसपाको महाधिवेशनको उद्घाटन गर्ने तयारी पूरा भएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा नेपालका सबै राजनीति दलका प्रमुख नेतालाई आमन्त्रण गरिएको जसपा नेपाले जनाएको छ ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका उपसभापित पूर्णबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव भने उद्घाटन समारोहमा उपस्थित हुने जसपा नेपालका नेता जितेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार जसपा नेपालको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सभ्य र भब्य बनाउने प्रयास गरिएको छ । महाधिवेशनले जसपा नेपालको नेतृत्व समेत चयन हुने भएको छ ।
पार्टी अध्यक्षमा उपेन्द्र यादवको विकल्पमा अहिले कसैले इच्छा नजनाएको नेता यादवले बताउनुभयो । उहाँका अनुसार अरु पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ । जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन भने बुधबारका लागि तोकिएको छ ।
जसपा नेपालको महाधिवेशनबाट अध्यक्षसहित २० जना पदाधिकारीको निर्वाचन हुनेछ । महाधिवेशनले एक जना अध्यक्ष, एक जना सह–अध्यक्ष, पाँचजना उपाध्यक्ष, दुई जना महासचिव, तीन जना उप–महासचिव, सात जना सचिव र एक जना कोषाध्यक्ष र २ सय १ जना केन्द्रीय सदस्य तथा कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ ।
सात सचिव मध्ये प्रादेशिक क्लस्टरका आधारमा व्यवस्था गरिएकोले सातै प्रदेशबाट एक/एक जना गरी सात जना रहनेछ । करीब दुई हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जसपा नेपालले जनाएको छ ।