पेरिस ओलम्पिकमा नेपालका स्यान्टु र प्रिन्सले आफ्नो पहिलो खेल खेल्दै

श्रावण १२, २०८१ | काठमाडौं

पेरिस ओलम्पिक अन्तर्गत आज टेबलटेनिस र ब्याडमिन्टनतर्फ नेपाली खेलाडीको आफ्नो पहिलो खेल खेल्दै छन् । नेपालका स्यान्टु श्रेष्ठ र प्रिन्स दाहालले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । 

टेबलटेनिसको प्रारम्भिक ‘ड्र’ अनुसार पुरुष एकलतर्फ नेपालका स्यान्टु श्रेष्ठले सेनेगलका इब्राहिमा डायवलाई पहिलो प्रतिद्वन्द्वी पाएका छन् । 

पेरिस एक्पो पोर्ट डे भर्सेल्समा हुने पुरुष एकलतर्फको पहिलो चरणको खेल नेपाली समय अनुसार राति साढे ७ बजे हुनेछ । स्यान्टु दक्षिण एसियाको छनोट पार गर्दै ओलम्पिक पुगेका हुन् । उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी हुन् ।

यस्तै, ब्याडमिन्टन पुरुष एकलतर्फ समूह ‘पी’मा रहेका नेपालका प्रिन्स दाहालले डेनमार्कका भिक्टोर एक्सेल्सनको सामना गर्दैछ । पेरिसस्थित पोर्टे डे ला चापेल एरिनामा हुने खेल नेपाली समय अनुसार राति पौने एक बजे हुनेछ । 

प्रिन्सका प्रतिद्वन्द्वी एक्सेल्सन विश्व नम्बर दुई वरीयता तथा दुई पटकका विश्व च्याम्पियन हुन् । जुनियरतर्फ विश्व नम्बर एक भइसकेका प्रिन्सले अर्को खेलमा तीनपल्ट ओलम्पिक खेलिसकेका इजरायलका मिसा जिल्बरमन र आयरल्यान्डका नहत गुएनसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रिन्स युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा छनोट भएका थिए । पेरिस ओलम्पिकमा नेपालबाट ६ खेलमा ७ खेलाडीले भाग लिएका छन् । 

यस्तै, ओलम्पिकमा आज डाइभिङ, फेन्सिङ, जुडो, रोड साइक्लिङ, रग्बी सेभेन्स, सुटिङ, स्केटबोर्ड र पौडी खेलका विभिन्न स्पर्धामा खेलहरु हुँदैछन् । फुटबल, रग्बी सेभेन्स, आर्चरी र ह्यान्डबलका प्रतिस्पर्धा भने उद्घाटन समारोह बुधबारदेखि सुरु भएको थियो ।


प्रतिक्रिया