काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको दोस्रो हार

श्रावण ५, २०८१ | काठमाडौं

माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । मालेमा गएराति भएको खेलमा नेपाल कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो । 

नेपालले सुरुवाती २ सेटमा कडा चुनौती प्रस्तुत गरेपनि नतिजा भने आफ्नो पक्षमा पार्न सकेन । नेपाल कीर्गिस्तानसँग २५-२७, २३-२५ र १७-२५ को सेटमा पराजित भएको हो । नेपाल आफ्नो पहिलो खेलमा श्रीलंकासँग ४ सेटमा पराजित भएको थियो । लगातर दुई खेल गुमाएको नेपाल अंकविहीन छ ।

हिजै सम्पन्न अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३-० ले हराएको थियो । घरेलु टोली माल्दिभ्स पहिलो खेलमा कीर्गिजस्तानसँग पराजित भएको थियो । प्रतियोगितामा सहभागी चार टिम मध्ये कीर्गिजस्तान र श्रीलंकाको समान ६-६ अंक भएको छ ।

लिग चरणको अन्तिम दिन आज नेपालले आयोजक माल्दिभ्सको सामना गर्दैछ । आज हुने अर्को खेलमा श्रीलंका र कीर्गिजस्तानबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच प्रतिस्पर्धा हुनेछ । दुई खेलको विजेताले फाइनल खेल्नेछन् ।


प्रतिक्रिया