महिला एशिया कप क्रिकेटमा इण्डियाको विजयी सुरुवात

श्रावण ५, २०८१ | काठमाडौं

महिला एशिया कप क्रिकेटमा इण्डियाले विजयी सुरुवात गरेको छ । श्रीलंकामा हिजो सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा इण्डियाले पाकिस्तानलाई ७ विकेटले हराएको हो । 

पाकिस्तानले दिएको १ सय ८ रनको लक्ष्य इण्डियाले १४ ओभर एक बलमा पूरा गर्‍यो । इण्डियाको जितमा स्मृति मन्डनाले ४५ र सफाली बर्माले ४० रन बनाइन् । पाकिस्तानका लागि सैयदा आरुब साहले दुई तथा नशरा सन्धुले एक विकेट हात पारिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । पाकिस्तानका लागि सिद्रा अमिनले सर्वाधिक २५ रनको योगदान गरिन् । तुबा हसनले २२ र फतिमा सानाले नटआउट २२ बनाईन् । 

इण्डियाका दिप्ती शर्माले ३ तथा रेनुका सिंह, पूजा वस्त्राकर, श्रेयान्का पाटिलले समान २/२ विकेट लिइन् । यो जितसँगै इण्डिया समूह ’ए’ को तालिकामा दुई अंकसहित पहिलो स्थानमा पुगेको छ । हिजै सम्पन्न खेलमा यूएईलाई पराजित गरेको नेपाल समान दुई अंकका साथ दोस्रो स्थानमा छ ।

यसैबीच, महिला एशिया कप क्रिकेटमा आज समूह ‘बी’को मलेसिया र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । दाम्बुला क्रिकेट स्टेडियममा हुने यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । यस्तै, आजै हुने दोस्रो खेलमा आयोजक श्रीलंकाले बंगलादेशको सामना गर्नेछ । श्रीलंका र बंगलादेशबीचको खेल साँझ सवा ७ बजे सुरु हुनेछ ।


प्रतिक्रिया