नेपालले रसियन महिला भलिबल टिमसँग मैत्रीपूर्ण खेल खेल्दै

श्रावण ६, २०८१ | काठमाडौं

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले रसियन टोलीसँग दुई मैत्रीपूर्ण म्याच खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हुने नेपाल र रसियन महिला भलिबल टिमबीचको खेल आज साँझ ५ बजे सुरु हुनेछ । 

दोस्रो खेल भोलि सोमबार हुनेछ । काठमाडौंस्थित रसियन दूतावासको सहयोगमा मैत्रीपूर्ण खेल हुन लागेको हो । यही साउन १७ देखि काठमाडौंमा आयोजना हुने काभा नेसन्स लिगको तयारीका लागि नेपालले रसियन महिला भलिबल टिमसँग दुई मैत्रीपूणर् म्याच खेल्न लागेको हो ।

काभा लिगमा भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउने तय भएको नेपाल भलिबल संघले जनाएको छ । सो प्रतियोगिताका लागि नेपालले १४ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिसकेको छ । 

टोलीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, सलिना श्रेष्ठ, साफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी छन् । नेपाल र रसियन महिला भलिबल टिमबीचको खेलको कान्तिपुर म्याक्स टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।


प्रतिक्रिया