महिला एसिया कपमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

श्रावण ६, २०८१ | काठमाडौं

नेपालले एसीसी महिला एसिया कपको आफ्नो दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।श्रीलंकाको दाम्बुलामा हुने नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । 

समूह ‘ए’ मा रहेको नेपाल आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स यूएई विरुद्ध ऐतिहासिक जितपछि उच्च मनोबलमा छ । तर, दुई पटकको उपविजेता पाकिस्तानलाई हराउन नेपाललाई त्यति सजिलो भने छैन । 

यसअघि सम्झना खड्काको अर्धशतकमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो । सम्झनाले अविजित ७२ रन बनाएपछि नेपालले १ सय १६ रनको लक्ष्य १६ ओभर १ बलमा पूरा गरेको थियो । 

समूहको आफ्नो पहिलो खेलमा पाकिस्तान इण्डियासँग सात विकेटले पराजित भएको थियो । त्यसकारण पनि पाकिस्तान आज समूह चरणमा पहिलो जित दर्ता गर्ने लक्ष्यमा हुनेछ ।

यसैबीच, समूह एको अर्को खेलमा इण्डियाले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । दम्बुला क्रिकेट रंगशालामा हुने इण्डिया र यूएईबीच खेल दिउँसो सवा २ बजे हुनेछ । यूएई र पाकिस्तान पराजित भए इण्डिया र नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् ।


प्रतिक्रिया