महिला एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

श्रावण ७, २०८१ | काठमाडौं

एसीसी महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलंकाको रागिंरी दाम्बुला इन्टरनेसनल स्टेडियममा गएराति भएको समूह ‘ए’को खेलमा नेपाललाई पाकिस्तानले ९ विकेटले हराएको हो । 

नेपालले दिएको १ सय ९ रनको लक्ष्य पाकिस्तानले ११ दशमलव ५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । प्रतियोगितामा पाकिस्तानको यो पहिलो विजय हो । 

पाकिस्तानको जितमा गुल फिरोजले अर्धशतकीय इनिङ्स खेलिन् । उनले ३५ बलमा १० चौकाको मद्दतमा ५७ रन बनाएर आउट भइन् । यस्तै, मुनेवा अलीले ४६ र तोबा हसन १ रनमा नटआउट रहिन् । नेपालका लागि कविता जोशीले एक विकेट लिईन् ।

त्यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । नेपालका लागि कविता जोशीले नटआउट ३१ रन बनाईन् । उनले २३ बलकम ४ चौका र १ छक्का प्रहार गरिन् । 

सीता रानामगरले २६, पूजा महतो २५ र कविता कुँवर १३ रनमा आउट भईन् । नेपालका तीन खेलाडी रनआउट भएको पाकिस्तानी इनिङ्समा सादिया इकबालले २ विकेट लिइन् । 

पाकिस्तानलाई पराजित गरेको भए नेपाल सेमिफाइनलमा पुग्ने थियो । तर, अब भोलि मंगलबार हुने समूह चरणको अन्तिम खेलमा इण्डियालाई पराजित गरेमा मात्र नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । 

नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो । समूह ‘ए’ मा इण्डिया दुवै खेल जितेर ४ अंकका साथ शीर्ष स्थानमा छ । पाकिस्तान २ अंकसहित दोस्रो र समान २ अंक जोडेको नेपाल समूह तालिकाको तेस्रो स्थानमा छ । 

पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको इण्डियाले दोस्रो खेलमा यूएईलाई ७८ रनले हराएको गरेको थियो ।


प्रतिक्रिया