एसिया कप खेलेर नेपाली महिला टोली स्वदेश फिर्ता

श्रावण १०, २०८१ | काठमाडौं

एसीसी महिला टी–२० एसिया कप क्रिकेट खेलेर राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ ।

नेपाल क्रिकेट संघका पदाधिकारीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको स्वागत गरे ।

नेपालले तेस्रो पटक एसिया कपमा सहभागीता जनाएको हो । श्रीलंकामा भएको प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरियो । समूह चरणको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स युएईलाई ६ विकेटले पराजित गरेको नेपाल पाकिस्तानसँग ९ विकेट र इण्डियासँग ८२ रनले पराजित भएको थियो ।

नेपाल रहेको समूह ए बाट इण्डिया र पाकिस्तान तथा समूह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् । भोली हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता इण्डिया र समूह बी को उपविजेता बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै दोस्रो सेसिमफाइनलमा समूह बी को विजेता श्रीलंका र समूह ए को उपविजेता पाकिस्तान आमनेसामने हुनेछन् । एसिया कपको फाइनल खेल आगामी आइतबार हुनेछ । 


प्रतिक्रिया