मनसुनी वर्षासँगै पानीजन्य रोगको संक्रमण बढ्ने जोखिम

असार १७, २०८१ | काठमाडौं

मनसुनी वर्षासँगै पानीजन्य रोगको जोखिम बढ्न थालेको चिकित्सकले बताएका छन् ।

अस्पतालहरूमा पानीजन्य रोग तथा सङ्क्रमणहरू लिएर आउने बिरामीको संख्या बढेको भन्दै सतर्कता अपनाउन चिकित्सकले सुझाएका छन् ।

संक्रामक रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनले झाडापखाला, टाइफाइड, ज्वरो आउने, टाउको दुख्ने, जन्डिस तथा छालासम्बन्धी समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढेको बताउनुभयो ।

वर्षायाममा खाना तथा पानीमा हेलचेक्र्याइँ गर्दा पानीजन्य रोगको सङ्क्रमण बढ्ने उहाँको भनाई छ । मनसुन शुरु भएसंगै यसको जोखिम अझै बढ्न सक्ने भएकाले सतर्कता अपनाउनसमेत उहाँले आग्रह गर्नु भएको छ ।

पानीजन्य रोगको सम्भावित जोखिम न्यूनीकरण गर्न ७ वटै प्रदेशमा सरोकारवाला निकायहरूसँग छलफल थालिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

त्यसबाहेक चिकित्सकसहित प्रत्येक प्रदेशमा निदानदेखि उपचारका लागि १० जनाको रेपिड रेस्पोन्स टिमको समेत व्यवस्था गरेको महाशाखाले जनाएको छ ।

 झाडापखाला, ज्वरो, टाउको दुख्ने, लगायत समस्या देखिएमा तत्काल अस्पताल तथा स्वास्थ्य संस्थामा जान चिकित्सकले सुझाव दिएका छन् । 


प्रतिक्रिया