कोशी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

असार ३०, २०८१

कोशी प्रदेशमा रहेका १६ देखि ५९ महिनाभित्रका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएपछि आज कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । स्वास्थ्य मन्त्रालयको पूर्ण खोप सुनिश्चित कार्यक्रम अन्तर्गत ७७ जिल्लामध्ये ७६ जिल्ला र सात प्रदेशमा ६ प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । अब प्रदेशमा बागमति र जिल्लामा नुवाकोट मात्र पूर्ण खोप सुनिश्चित क्षेत्र हुन बाँकी रहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताउनुभयो । 

बालबालिकालाई १३ खोपको १८ मात्रामा दिनुपर्ने भएकाले प्रत्येक वर्ष खोप सुनिश्चित अभियान सञ्चालन गर्ने गरिएको उहाँको भनाइ छ । भौगोलिक कठिनाइका कारण कतिपय हिमाली क्षेत्रमा हिँडेर खोप दिन जानुपर्ने बाध्यता रहेपनि विगतको तुलनामा अभियान कार्यान्वयन गर्न केही सहज भएको डा गौतमले बताउनुभयो । पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७७ को पूर्ण कार्यान्वयनको लागि गत माघबाट पाल्पा जिल्लामा खोप लगाउन सुरु गरिएको अभियान जारी छ । अभियान अन्तर्गत पाल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको थियो भने प्रदेशमा गण्डकी पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा भएको थियो । अब नुवाकोट जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेपछि बागमति प्रदेशलाई पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गरिनेछ । 


प्रतिक्रिया