नेपाली सेनाको अगुवाइमा मनसुनजन्य विपद्बाट जोगिने उपायबारे संयुक्त अभ्यास सम्पन्न

जेष्ठ १९, २०८१ | काठमाडौं

मनसुनजन्य विपद्बाट जोगिन नेपाली सेनाको अगुवाइमा विभिन्न सरोकारवाला निकायसँग संयुक्त अभ्यासको चौँथो संस्करण सम्पन्न भएको छ ।

मनसुनजन्य प्राकृतिक प्रकोपको नियन्त्रण तथा बाढी पहिरोजस्ता विपद्मा परेका पीडितको शिघ्र उद्दार र राहतको लागि सो अभ्यास आयोजना गरिएको नरसिंह गणका गणपति प्रमुख सेनानी प्रमोदकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार, अभ्यासमा उद्दार तथा राहत सामग्रीको समेत प्रदर्शन गरिएको थियो । काठमाडौंको टौदहमा सम्पन्न सो कार्यक्रम तीन चरणमा गरिएको हो ।

अन्तिम दिन संयुक्त अभ्यासबाट सिकेको बिषय विद्यार्थी र सर्वसाधारणमाझ प्रदर्शन गरिएको थियो । जसमा ६ वटा विभिन्न विषयमा प्रदर्शन गरिएको सेनाले जनाएको छ ।

अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका प्रतिनिधि र स्थानीय स्वयम्सेवक समेत संलग्न थिए ।

नेपाली सेनाको स्थानीय युनिटको पहलमा ७७ जिल्लामा मनसुन सुरु हुनुअघि सो तालिमको आयोजना हुँदै आएको छ । 


प्रतिक्रिया